कालीगण्डकी करिडोरको काम तीव्र गतिमा सन्चालन

प्रकाशित मिति:

बागलुङ- उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो ।

पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ । युद्धस्तरमा काम भइरहेको छ” कार्यदलका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले भन्नुभयो, “पाँच किमिमा काम सकियो, बाँकी असारभित्र पूरा हुन्छ । सडक चौडासँगै नाली, पर्खाल र ग्राबेलको काम पनि गरिनेछ । उक्त सडकखण्ड स्तरोन्नतिका लागि सरकारले रु दश करोड बजेट छुट्टाएको थियो । अघिल्लो वर्ष नै सडक विस्तारको योजना रहेपनि बजेट नहुँदा काम अघि बढेको थिएन । स्थानीयवासीले सडक स्तरोन्नतिको माग गर्दै आएका थिए ।

थप बजेट आए आउँदो वर्ष बाँकी सडकखण्ड चौडा पार्ने काम शुरु हुनेछ । करिडोरको ३८ किमि खण्ड बागलुङमा पर्छ । “थप रु २५ करोड बजेट आवश्यक छ” कार्यदल प्रमुख भट्टराईले भन्नुभयो, “बजेट आएमा आउँदो वर्ष बागलुङको सबै खण्ड सक्छौँ । बलेवा विमानस्थलदेखि गुल्मीको सीमा पालुङखोला जोड्ने २८ किमि सडक दोस्रो चरणमा चौडा पार्ने योजना कार्यदलको छ । थप बजेट ल्याउन पहल भइरहेको बागलुङ क्षेत्र नं। १ का सासंद डा सूर्य पाठकले बताउनुभयो । सडक कालोपत्र भएपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल नियमित सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ । करिडोरको ८० किमि बागलुङ–गुल्मी खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई छ । सेनाले करिडोरको यस खण्डमा दुई वर्षअघि मार्ग खोलेको थियो ।

बागलुङसँगै गुल्मी खण्डमा पनि सडक चौडा गर्ने काम भइरहेको छ । गुल्मीका लागि पनि सरकारले चालू आर्थिक वर्षमा रु दश करोड बजेट विनियोजन गरेको थियो । रिडीदेखि रुद्रवेणीसम्मको सात किमिमा काम सकिएको छ । रुद्रवेणी–बहरेखाला खण्डमा स्तरोन्नतिको काम चलिरहेको छ । बहरेखोलादेखि बागलुङको सीमा पालुङखोला जोड्ने सडकको लागि थप बजेट चाहिने कार्यदलले जनाएको छ । “थप ५० करोड बजेट भयो भने गुल्मी–बागलुङको सबै काम सकिन्छ” कार्यदल प्रमुख भट्टराईले भन्नुभयो, “समयमा काम शुरु नभए लागत अझ बढ्न सक्छ ।

विसं २०७६ असारसम्ममा बागलुङ–गुल्मी खण्डको स्तरोन्नति सकेर कालोपत्रका लागि सडक विभागलाई हस्तान्तरण गर्ने कार्यदलको लक्ष्य छ । करिडोरको बागलुङ–गुल्मी खण्डबाहेक अन्य क्षेत्रमा सडक विभागले स्तरोन्नति र कालोपत्रको काम गरिरहेको छ । नेपाललाई चीन र भारतसँग जोड्ने ४३५ किमि दूरी भएको कालीगण्डकी करिडोरलाई सामरिक महत्वको सडक मार्गका रुपमा लिइन्छ । पर्यटन, व्यापार, र पारवहन दृष्टिले समेत महत्वपूर्ण यस करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड बन्ने विश्वास गरिएको छ । रासस