गृहणी महिलाहरुका लागि नेतृत्व विकास तालिम

प्रकाशित मिति:

झविन्द्र देवकोटा / देवदह –  रुपन्देहीको देवदहमा गृहणी महिलाहरुका लागि भएको १५ दिने नेतृत्व विकास तालिम मंगलबार सकिएको छ । देवदह नगरपालिकाको सहयोग तथा लाङ्घाली महिला समुह र सरनटाँडी महिला समुहको संयुक्त आयोजनामा देवदह ६ सरनटाडिमा संचालन भएको महिलाका लागि नेतृत्व, ब्यक्तित्व विकास तथा उद्घोषण तालिम मंगलबार सकिएको हो ।

तालिमको समापन गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले महिलाहरु पछाडि पर्नुको मुख्यकारण नेतृत्व विकास नहुनुनै भएकाले नेतृत्व र क्षमता विकासमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले महिलाअधिकार र सहभागिताका लागि पनि महिलाहरु सक्षम हुनुको विकल्प नभएको जनाउदै समयसमयमा तालिमको अवसर महिलाहरुलाई दिनुपर्ने बताउनुभयो ।

सरनवारी महिला समुहका अध्यक्ष तथा कार्यक्रम संयोजक नरमाया रानाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष दामोदर क्षेत्री, वडासदस्य यमुना न्यौपाने, सरनकालिका वन समुहका अध्यक्ष भिमबहादुर सिंजाली, कृषक समुहका अध्यक्ष मानबहादुर गाहाँ, सरनबारी टोलविकास संस्थाका अध्यक्ष रन्जीतकुमार आले, लांघाली महिला समुहकी अध्यक्ष लालकुमारी सिंजाली, पत्रकार झविन्द्र देवकोटा, तालिमका सहभागि लिलमाया सिंजाली, मनकुमारी बाकावल लगायतले तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । पत्रकार सन्जु पौडेलले प्रशिक्षण दिनु भएको नेतृत्व विकास तालिमको संचालन यमकुमारी ठाडाले गर्नु भएको थियो । बैशाख ८ गतेदेखि संचालन भएको तालिममा सरनटाडी क्षेत्रका झण्डै चार दर्जन विद्यार्थी तथा गृहणी महिलाहरुको सहभागिता रहेको थियो ।