मलेसिया-मलेसियाको ईपोह पेयर्कमा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जित्न सफल भएका छन् । ईन्द्रमुलिया स्टेडियममा सम्पन्न खेलमा नेपालकोतर्फबाट नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिष्पर्धा गरेका थिए ।
जसमा नेपाल रेन्बुकाई कराँते डो संघको तर्फबाट महिलातर्फ हिरादेवी राई, जुनियरतर्फ ८ वर्ष मुनिको उमेर समुहमा कुमितेतर्फ तिलोत्तमा नगरपालिका रुपन्देहीका ईश्वर वि.क., १० वर्ष उमेर समुहमा रुपन्देहीकै संगम नेपाली, १२ वर्ष समुहमा युजिन गुरुङ, १३ वर्षमा समुद्र सिंह राना, १४ वर्ष उमेर समुहमा सविन श्रेष्ठ, ओमसतिया गाउँपालिका रुपन्देहीका कमल चौधरीले १५ वर्ष उमेर समुहमा प्रतिष्पर्धा गर्दै पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएको नेपाल रेन्बुकाई कराँते संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशमलाल लामा तामाङले जानकारी दिए ।
स्वर्ण जित्नेमा नोवेल ईन्भारोमेण्ट एकेडमी कोटिहवाका ईश्वर विक, न्यु नमुना बोर्डिङ स्कुल भलुहीका युजिन गुरुङ, सिद्धार्थ ग्यालेक्सी कोटिहवाका समुद्र सिंह राना, गुरुकुल इन्ष्टिच्युटका सविन श्रेष्ठ, सनलाइट बोर्डिङ स्कुल ओमसतियाका कमल चौधरी रहेका छन् । त्यस्तै प्रतियोगितामा सञ्जीवनी शिक्षा सदनका संगम नेपाली रजत, हिरादेवी राइले काता तथा कुमितेमा गरी दुई रजत पटक प्राप्त गरेको प्रशिक्षक कमरुदिन अलिले जानकारी दिए ।
१२ वर्ष उमेर समुहमा नेपाली खेलाडी युजिनसंग उज्वेकिस्तानका खेलाडीले निकै प्रतिष्पर्धात्मक खेल खेल्दा युजिनले किक प्रहार गरी आफ्नो दवावमा राख्दै नतिजा नेपालको पक्षमा पार्न सफल भए । कुनै पनि प्रतियोगितामा हार नव्यहोरेका उज्वेकिस्तानका खेलाडीले नेपाली प्रतिष्पर्धीसंग पराजित भएसंगै रुदै एरिनाबाट बाहिरिएर र प्रतिष्पर्धी युजिनलाई मायाको चिनो समेत प्रदान गरेका थिए । यो दृश्य सबैका लागि आकर्षक बनेको थियो ।विजयी खेलाडीलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब ईन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरे । भारत, मलेसिया, सिंगापुर, जर्मनी, इण्डोनेसिया, पाकिस्तान, दुवई, ईक्जुस्थान लगायत १६ राष्ट्रका करिब १ हजार बढी खेलाडी सहभागी प्रतियोगितामा नेपालको तर्फबाट दुई टोली सहभागी भएका थिए । टोलीको टिम म्यानेजर प्रेम जीएम (घर्ती मगर)ले गरेका छन् ।निकै प्रतिष्पर्धात्मक रहेको खेलमा सबै नेपाली खेलाडीहरुले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिष्पर्धीलाई दवावमा राखेका थिए । नेपाली खेलाडीले आफ्नै मिहिनेतमा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक प्राप्त गर्नु गौरवको विषय भएको संघका प्रशिक्षक कमरुदिन अलिले बताए । थुप्रै राष्ट्रका बीचमा नेपाली टोली अनुशासित तथा सबैको आर्कषक बन्न सफल भएको भन्दै ओकनवा गजुरियो डो एशियाका प्रमुख प्रशिक्षक सिहान एस.के आनन्थानले नेपाली टोलीको निकै प्रशंशा गरे ।नेपालले २०१९।२० लाई भिजिट वर्षका रुपमा मनाउन गइरहेकोले यसलाई सफल बनाउन आफु नेपाल आउने उनले प्रतिवद्धता जनाए । प्रतियोगितामा नेपाली चेली पुष्पा गुरुङले रेफ्रिको भुमिका निभाएकी थिइन् । कुनै पनि खेलमा निरन्तरता दिने र लगनशिल भएर लाग्ने हो भने अन्तर्रा्ष्ट्रिय रुपमा निर्णायकको भुमिकामा पुग्न सकिने र देश तथा आफ्नो नाम राख्न कुनै कठिन नरहेको रेफ्रि गुरुङको भनाइ छ ।नेपालको तर्फबाट सिनियरतर्फ पुरुषमा ओकनवा गजुरियो कराँते संघ नेपालका खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागी हुन नेपालको तर्फबाट खेलाडी सहित संघका रुपन्देही जिल्ला अध्यक्ष मनोज राना, राष्ट्रिय खेलकुद परिषद्का प्रमुख टेक प्रसाद कटेल, संघका केन्द्रिय उपाध्यक्ष अनिता परियार, अभिभावक अब्दुल हक, सञ्चारकर्मी सम्झना शर्मा गत १८ गते मलेसिया प्रस्थान गरेका थिए । टोली वैशाख २८ गते नेपाल फर्कनेछ ।उक्त प्रतियोगिताको टिम म्यानेजरको रुपमा प्रेम जी एम रहेका थिए












