बुटवल तिनाउ सरसफाई अभियान बुटवल नगरीलाई दुई वर्षभित्र सुन्दर शहर बनाउने गरी सरसफाईमा जुटेको छ । एक वर्ष सरसफाईमा जुटिसकेको अभियानले अझै एक वर्षभित्र बुटवल उपमहानगरपालिकालाई सुन्दर र सफा नगरको रूपमा चिनाउने गरी सरसफाईमा केन्द्रित भएको हो ।
बुटवल तिनाउ सरसफाई अभियानले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रत्येक हप्ता गर्ने बुटवल टोल–टोल सरसफाई अभियानलाई सक्रिय पारेको अभियानका संयोजक ठाकुर गैरेले जानकारी दिए । अभियानले हरेक हप्ताको शनिबार विहान ७ देखि ९ बजेसम्म सरसफाई गर्दै आएको छ । गएको असार ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत शनिबार ४७ औं सरसफाई अभियान हुने भएको गैरेले बताए ।
अभियानले आज (शनिबार) ४७ औं देखि ५० औं हस्तासम्म बुटवल बसपार्कको सरसफाईमा केन्द्रित हुने गैरेले बताए । अभियानले सुरुका ९ हप्ता पनि बसपार्कमा सरसफाई गरेको थियो । प्रत्येक हप्ता टोल सरसफाई अभियानलाई स्थानीयसँगै पहिलो पाईला बुटवल, गुल्मी सिमीचौर सम्पर्क समाज, खुद्रा किराना ब्यवसायि संघ, औद्योगिक शसस्त्र बल, नेपाली सेना, प्रहरीले सहयोग गरेका छन् । बुटवललाई सरसफाईमा सुन्दर शहर बनाउनका लागि प्लाष्ट्रिकका झोला, सामग्री लगायत साना सुर्ति, खैनी, चकलेट, चाउचाउ, स्याम्फु लगायतका प्लाष्ट्रिक बस्तुहरुले समस्या ल्याएको हुँदा त्यस्ता बस्तुहरुको ब्यवस्थापनमा बढी जोड दिनु पर्ने अभियानले सर्वसाधरणलाई आग्रह समेत गरेको छ । अभियानमा झण्डै १ सय ५० देखि २० सय जना मानिसहरु सहभागी हुन्छन । अहिलेसम्म अभियानले १ सय टन फोहोर संकलन गरी नगरपालिकाको जिम्मा लगाएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवल नगरलाई सफा र सुन्दर बनाउन आफैबाट फोहर ब्यवस्थापनमा चासो राख्नु पर्ने धारणा राख्दै नगरलाई सफा राख्ने सबैको दायित्व रहेको बताए । उनले मनैभित्र बाट नगरलाई सफा राख्नु पर्दछ भन्ने मनोभावनाको विकास हुनुपर्नेमा जोड दिए । सरसफाई अभियानमा बुटवल उपमहानगरपालिकाले प्राविधिक सहयोग दिँदै आएको छ । आउने जेठ १८ गते ५० औं सरसफाई हप्ता पूरा भएको अवसरमा वृहत सरसफाई कार्यक्रम गर्ने अभियान रहेको सहसंयोजक कृष्ण कंडेलले जानकारी दिनुभयो । पहिला पाइला नेपालका भरत केसीले सरसफाई अभियानमा जनप्रतिनिधिहरूको साथ रहेमा बुटवल सुन्दर शहर बनाउन सकिने बताए ।












