प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अस्वीकृत गरेको निर्णय संवैधानिक परिषद्लाई जानकारी गराउने
२० साउन, काठमाडौं । संघीय संसदको सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई अस्वीकृत गरेको निर्णय आज संवैधानिक परिषद्लाई जानकारी गराउने भएको छ ।
सुनुवाई समितिको निर्णयबारे औपचारिक जानकारी गराइएपछि संवैधानिक परिषद्ले पुनः प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय लिनेछ । सुनुवाइ समितिको औपचारिक पत्र प्राप्त हुनासाथ न्याय परिषद्बाट सिफारिसमा परेका अन्य दुई न्यायाधीशहरु ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्येबाट एक नाम छनोटका लागि संवैधानिक परिषद्को बैठक बस्नेछ ।
यसअघि सिफारिस गरिएको नाम किन अस्वीकृत भएको बारे परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले कारणसहित जानकारी गराउनुपर्ने छ । गत शुक्रबार संसदीय सुनुवाइ विशेष समितिको बैठकले २ तिहाई बहुमतबाट जोशीको नाम प्रधानन्यायाधीशका लागि अस्विकृत गरेको थियो ।












