रोजगारी, अध्ययन र ब्यापार लगायत बिभिन्न उद्देश्यले आफुनो पृय मात्रृभूमि छोडेर प्रवासमा हामी लाखौं नेपालीहरु आआफ्नो क्षेत्रमा कर्मशील छौं । आफुनो गाउँघर र परिवेशलाई छाडेर बेलायतमा पनि ठूलो संख्यामा नेपाली दाजुभाइ दिदीबहिनीहरु रहनुभएको छ । यहाँका नेपाली समाजको संरचनालाई हेर्दा समग्र मुलुकको तस्वीर अनुभूति गर्न सकिन्छ । बिभिन्न जाति, धर्म, संस्कृति र परम्पराले बेलायतको नेपाली समाजलाई जीवन्त बनाएको छ ।
यहाँका नेपालीहरुले बिभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरी नेपाली माटो र समाजलाई अतुलनीय योगदान पुर्याइरहेका छन् । गोर्खा सैनिकहरुको गौरवपूर्ण गाथाले नेपाली जनहरुलाई विश्वमा चिनाएको छ । पछिल्लो समय बेलायतका नेपालीहरुले बोद्दिक र प्राज्ञिकहरुका साथै ब्यापार ब्यवसायमा समेत महत्वपूर्ण सफलता हासिल गरेका छन् । बेलायती नेपाली समाज साँचो अर्थमा सबै किसिमका फूलहरुको सुन्दर फूलबारी हो । यसलाई ब्यवस्थित र विकसित बनाएर सुसंस्कृत समाजको निर्माण संगसंगै हाम्रा धर्म, संस्कृति, रितिरिवाज र परम्परालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । समयको प्रवाहसंगै बेलायती नेपाली समाज अवसर र चुनौतिहरुका बीचमा खडा छ । यसलाई समुन्नत बनाउनको लागि तपाईं हामी सबै मिलेर राम्रा कामहरु गर्दै समाज र देशलाई योगदान गर्नुपर्दछ ।
समाज र देशलाई योगदान गर्ने र केही नयाँ तथा सकारात्मक प्रयास गर्ने उद्देश्यले २४न्युजप्रेसले एनआरएन एनआरएनको बारेमा बृहत वहस तथा अवार्ड वितरण गर्ने जमर्को गरेको जानकारी गराउन चाहान्छौं । यही मे २५ शनीबारको दिन आयोजना हुने यस कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत महामहिम डा। दुर्गा बहादुर सुबेदी, गैर आवासीय नेपाली संघका बरिष्ठ उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, अष्ट्रेलियाका लागि बाणिज्यदुत दीपक खड्का, नेपाल पत्रकार महासंघका महासचिब रमेश बिस्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एपी वन टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्री, एपी वन टेलिभिजनका बरिष्ठ सम्वाददाता मोहराज शर्मा लगायतका अतिथिहरुको कार्यक्रममा सहभागिता रहनेछ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघको पहल र संयोजनमा नेपालमा गरिने लगानी र त्यसका अवस्थाका बारेमा एनआरएनएका पदाधिकारी र सरोकारवाला पक्षहरुलाई सहभागी गराई वहस कार्यक्रम सञ्चालन गरिनेछ । त्यसैगरी गोर्खा सैनिकको अवस्था र नागरिकताका बिषयमा अर्को वहस सञ्चालन गरिनेछ । कार्यक्रममा सहभागीहरुले समेत अन्तरकृयामा सकृय सहभागी बन्नु हुनेछ ।
कार्यक्रमको अर्को आकर्षणका रुपमा नेपाली समाजमा महत्वपूर्ण योगदान दिएर सार्वजनिक जीवनमा आफुलाई समर्पित गरेको ब्यक्तित्व र संस्थाहरुलाई सम्मान गर्ने रहेको छ । गैर आवासीय नेपाली संघमा संस्थागत योगदान पुर्याउनुहुने बिशिष्ठ ब्यक्ति, समाजसेवी, सञ्चारकर्मीहरु लगायत अन्य बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुहुने महानुभावहरुलाई हौसला र प्रेरणा दिएर आफ्नो कर्मक्षेत्रमा थप उर्जाका साथ लाग्न प्रोत्साहित गर्ने उद्देश्यले यो सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।
एनआरएन वहसले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्नुका साथै लगानीको सुरक्षा र नीतिगत कानूनी आधार स्तम्भ खडा गर्न थप सहयोग पुग्ने अपेक्षा राखिएको छ । यो वहसले बेलायतको नेपाली समाज मात्रै नभएर संसारभर रहेका गैरआवासीय नेपालीहरुलाई आफ्नो मात्रृभूमिमा लगानी गर्न प्रेरित गर्नुका साथै नीति निर्माणमा समेत सकारात्मक प्रभाव पार्न महत्वपूर्ण सावित हुने विस्वास हाम्रो छ ।त्यसैगरी नागरिकता र गोर्खाहरुका समस्याका बारेमा हुने वहसले बेलायतको नेपाली समाजले भोगेका समस्याहरुले वहसको माध्यमबाट सम्बन्धित निकायसम्म पुर्याउने प्रयास गरिनेछ । दुबै वहसहरु फलदायी बनाउन यहाँहरुको सक्रिय सहयोग र सुभेच्छाको खाँचो छ । अन्त्यमा कार्यक्रम सफल बनाउनका लागि महत्वपूर्ण योगदान गर्नुहुने अतिथिहरु बेलायतको नेपाली समाज र सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं ।
विनित
बिनय अधिकारी,
अध्यक्ष, 24४नयुजप्रेस












