बंगलादेशमा विद्यार्थीको आन्दोलनपछि सडक मस्यौदा तयार

प्रकाशित मिति:

सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ ।

ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानूनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले कानूनको मस्यौदा पारित गरेको मन्त्रीपरिषद् सचिव मोहम्मद शाफिउल अलामले जानकारी दिए ।

प्रस्तावित कानूनको मस्यौदामा दोषीलाई धरौटीमा छुट्न नमिल्ने र पाँच बर्षभन्दा बढी समय जेल सजाय हुने व्यवस्था गरिएको छ । बङ्लादेशको अहिलेको कानूनमा ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई धरौटीमा छुट्न मिल्ने र बढीमा तीन बर्ष जेल सजाय हुने व्यवस्था रहेको छ ।