बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन ,एक्सरे गर्न जानेको व्यक्तिसँग सिकेका आधारमा काम
‘मैले पाँच वर्षको अनुभवका आधारमा मात्र काम गरिरहेको छु,’ बुटवलस्थित सन्तोष मेडिकलको एक्सरे सेवामा कार्यरत मीनबहादुर जिसीले भने । उनले एक्सरे गर्न जानेको व्यक्तिसँग सिकेका आधारमा सो काम गरेको बताए ।
बुटवलस्थित मंगलम पोलिक्लिनिकको एक्सरे सेवामा कार्यरत हार्दिककुमार श्रेष्ठले सिएमए पास गरेका छन् । उनले एक्सरे सेवामा नियमित काम गर्दै आएका छन् । सो पोलिक्लिनिक बिनादर्ता अवैधरूपमा सञ्चालनमा छ ।
सो पोलिक्लिनिकका कार्यकारी निर्देशक मनोज पन्तले दर्ता प्रक्रियामा रहेको बताए । परिषद्ले अनुगमन गरेका केही ठाउँबाहेक अधिकांश एक्सरे सेवा बन्द गरिएको छ ।
बुटवलको मेडिटेक इन्टरनेशनल अस्पताल प्रालि र बुटवल हस्पिटल प्रालिमा पनि दक्ष जनशक्ति छैन । दक्ष जनशक्ति नहुँदा अनुभवका आधारमा एक्सरे सेवा प्रदान गरिँदै आएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ एवं नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले परिषद्मा दर्ता नभइ एक्सरे सेवा सञ्चालन गर्न नपाउने बताए । उनले बुटवलको एक्सरे सेवाको गुणस्तरीय नभएको बताए ।
बिरामीको स्वास्थ्यमा खेलवाड गरिएको उल्लेख गर्दै उनले बुटवलमा रेडियोग्राफरको संख्या पनि न्यून रहेको बताए ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ नारायण शर्माले बुटवलका एक्सरे सेवा कक्ष मापदण्डअनुसार सञ्चालन नभएको बताए । एक्सरे सेवा दिँदै आएका सञ्चालकले एक्सरे कक्षको क्षेत्रफल बढाउने, एक्सरे सेवामा रेडियोग्राफर राख्ने र एक्सरे सेवा दिँदा विकीरण (रेडिएसन) बाट बच्न सतर्कता अपनाउने आश्वासन दिएका छन् ।
परिषद्ले बुटवलको लुम्बिनी नर्सिङहोम, तिलोत्तमा अस्पताल, पुष्पा फार्म, लुम्विनी एक्सरे सेवा र आस्था एक्सरे सेवाको पनि अनुगमन गरेको थियो ।रासस












