सरकारको प्रष्टिकरण : सगरमाथा आरोहीको मृत्यु चापका कारण होइन, सामाजिक सञ्जालमा भ्रम नछरौं
काठमाडौं – पर्यटन विभागले सगरमाथा आरोहणका क्रममा पर्यटकको मृत्यु भएको घटना पर्वतारोहीको चापले मात्रै नरहेको स्पष्ट पारेको छ । उक्त क्षेत्रमा अत्यधिक चाप भएको र त्यसले गर्दा पर्वतारोहीको मृत्यु भएको समाचार अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आउन थालेपछि पर्यटन विभागले आइतबार वक्तव्य जारी गर्दै उक्त कुराको खण्डन गरेको हो ।
विभागका तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘पछिल्लो अनुकूल मौसम २१ मे देखि २४ सम्म भनिए पनि २१ मे मा आरोहण योजना बनाएका अधिकांश आरोही द्रुत हावाका कारण चौथो आधार शिविरमा दुई रात बस्न बाध्य भएको अवस्थाबारे यस क्षेत्रसँग सम्बन्धित सबैलाई जानकारी रहेकै छ । योसमेत कारणले २२ र २३ मे मा सगरमाथाको चौथो शिविर र त्यो भन्दा माथि केही बाक्लो संख्यामा आरोहीहरु रहेको भए पनि मृत्यु भएका आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चापमात्र हो भन्ने धारणा राखी प्रचार गरिनु दुःखपूर्ण छ ।’
वक्तव्यमा हिमालहरुको आरोहण आफैँमा साहसिक, जटिल र संवेदनशील कार्य भएको हुँदा सचेतता अवलम्बन गर्दागर्दै कतिपय दुःखदायी घटनाहरु हुने गरेको जनाउँदै भनिएको छ, ‘यस्ता घटनाहरुको न्यूनीकरणका लागि सरकारी, गैरसरकारी तथा निजी व्यक्ति सबैको सामूहिक प्रयास आवश्यक हुने गर्छ । यसर्थ यस वसन्तकालीन मौसममा भएका घटनाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न घटनाहरुको वास्तविकतालाई मात्र सबैले सम्मान गर्नुहुनेछ भन्नेमा विभाग आशावादी रहेको छ ।’
नेपाल सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको जनाउँदै विभागले वक्तव्यमा खुला रहेका हिमालहरुको आरोहणका लागि पर्यटन ऐन २०३५ र पर्वतारोहण सम्बन्धी नियमावली २०५९ अन्तर्गत रहेर विभागले आरोहण अनुमति पत्र जारी गर्ने गरेको जनाइएको छ । यस क्रममा सन् २०१९ को वसन्तकालीन मौसमका लागि पर्वतारोहण कार्य व्यवस्थापन तथा सञ्चालन गर्ने गराउने विभिन्न एजेन्सीको अनुरोधमा उक्त कानुनहरुको सीमामा रहेर ४४ अनुमति मार्फत ३८१ जना आरोहीलाई सगरमाथा आरोहणका लागि अनुमति दिइएको जनाइएको छ ।
वक्तव्यमा पर्वतारोहण कार्य गर्ने गराउने विभिन्न एजेन्सी र दलका साथ खटिई जाने सम्पर्क अधिकृतले दिएको जानकारी अनुसार थप वसन्तकालीन मौसममा हिमाल आरोहणका लागि गएका आरोही, शेर्पा, सरदारको हिमाल आरोहणका लागि जाने र फर्कने क्रममा हराएका वा मृत्यु हुनेको संख्या १६ पुगेको विभागले उल्लेख गरेको छ । तीमध्ये यो मौसममा सगरमाथा हिमालमा हराउने तथा मृत्यु हुनेको संख्या ८ पुगेको समेत विभागले जनाएको छ । विभागले मृत्यु भएका आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै र हराइरहेको बारेमा विभागले प्रार्थनन गर्र्दै उनीहरुको जीवन रक्षाको पहल गरिरहेको जनाएको छ ।
विभागले यस मौसममा सगरमाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर पर्वतारोहण सम्बन्धी नियमावली २०५९को नियम २४को पालना नगरी विभिन्न सामाजिक सञ्जाल मार्फत धारणा राख्ने वा फैलाउने गरेबाट सिर्जना भएको अवस्था वा पुराना फोटो र भिडियो राखी सगरमाथाको महत्व र गरिमालाई होच्याउने, न्यूनीकरण गर्ने मनसाय एवं दुस्प्रचारप्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्वतारोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्रै पहिचान गर्न सकिने विषय भएको विभागको ठम्याइ रहेकोले यस्ता गम्भीर विषयप्रति आफ्ना धारणाहरु सार्वजनिक गर्नुपूर्व ध्यान दिन समेत सबैमा विभागले आग्रह गरेको छ ।












