नयाँ दिल्ली – भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ। भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।
हत्या हुनेमा ३६ वर्षका चन्दन साउ रहेको बताइएको छ। उहाँमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो। घटनास्थल पश्चिम बङ्गाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ।
गोली लागेका साउलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिए। घर फर्किरहेका बेला साउलाई दुई वट मोटरसाइकलमा आएका चार व्यक्तिले गोली हानेको प्रहरीको भनाइ छ।












