बेलायतले आफ्ना नागरिकलाई भन्यो– नेपालमा रहँदा सचेत रहनु

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंमा हालै भएका बम विष्फोटलाई मध्यनजर गर्दै बेलायतले नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत रहन सल्लाह दिएको छ । आइतबार काठमाडौंमा भएका बम विष्फोटमा मानिसहरुको हताहती भएको समाचार आइरहेको भन्दै बेलायत सरकारले आफ्ना नागरिकलाई सचेत रहन सल्लाह दिएको हो । बेलायतले आफ्ना नागरिकलाई हुलमुलबाट जोगिनसमेत सल्लाह दिएको छ ।

त्यस्तै, सोमबार ‘स्थानीय सानो समूह’ ले देशव्यापी बन्द आह्वान गरेको तथा नेपालमा प्रदर्शन, बन्दलगायतका गतिविधि नियमित हुने गरेको भन्दै बेलायतले यस्तो अवस्थामा प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप हुनसक्ने भएकाले यस्ता प्रदर्शनबाट जोगिन समेत आह्वान गरेको छ । बेलायतले आफ्ना नागरिकलाई कुनै समूहले व्यापार, गैरसरकारी संस्था र स्थानीय तथा अन्तर्राष्ट्रिय विद्यालयमा धम्की दिएर चन्दा मागिनसक्ने भन्दै सगज रहन आग्रह गरेको छ ।

हरेक वर्ष बेलायतबाट ४० हजार भन्दा धेरै बेलायती नागरिक नेपाल आउने गरेको र अधिकांश बेलायतीले बिना कुनै समस्या नेपालको भ्रमण गर्ने गरेको भन्दै बेलायत सरकारले आफ्ना नागरिकलाई नेपालमा कुनै समस्या परेमा प्रहरीलाई १०० मा तथा वारुण यन्त्रलाई १०१ मा सम्पर्क गर्न समेत आह्वान गरेको छ ।