सिन्धुपाल्चोक -०७२ सालको विनाशकारी भूकम्पका कारण बन्द रहेको तिब्बत जोड्ने तातोपानी नाका आजबाट खुलेको छ । बन्द भएको ४ वर्षपछि तातोपानी नाका आजदेखि पुनः सञ्चालनमा आएसँगै यहाँ चलहपहल बढ्न थालेको छ ।
आज बिहानै ४ वटा रित्ता कन्टेनर ऊन आयात गर्नका लागि तातोपानी नाका हुँदै खासा पठाइएको छ । ती कन्टेनर भोलि बुधबार काठमाडौँ आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी तयारी हालतमा राखिएको थियो भने आज बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश पाएका हुन् ।यद्यपि भूकम्पपछि क्षतिग्रस्त रहेको नेपाल चीन जोड्ने मितेरी पुल निर्माण सम्पन्न हुन सकेको छैन । सो नहुँदा तत्कालका लागि अस्थायी रुपमा चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकको पुल हुँदै ती कन्टेनर खासा पठाइएको छ । सो पुलको काम अन्तिम चरण्मा रहेको र केही दिनमै निर्माण सम्पन्न हुने सो काम गरिरहेकोे तान् सुन रोड एण्ड ब्रीज कम्पनीले जानकारी दियो । यससँगै सडकको कालोपत्रे लगायत अन्य मर्मतका कामहरु भइरहेका छन् ।
भूकम्पअघि व्यस्त रहने यो नाका विगत ४ वर्ष सुनसानजस्तै रह्यो । यहाँ पर्यटकीय चहलपहल र आवतजावत समेत नहुँदा आसपासका होटल व्यवसायी मर्कामा थिए । नाका सञ्चालनमा आएसँगै यस क्षेत्रमा बेग्लै रौनक र उत्साह देखिएको छ । विगतमा यो नाका हुँदै सामान बोक्ने कन्टेनर र अन्य सवारी साधन गरी दैनिक १५ सय हाराहारी सवारीसाधन आवतजावत गर्थे ।












