कोपा अमेरिकामा नेयमार ब्राजिलका कप्तान नहुने, ड्यानी आल्भेसलाई अवसर

प्रकाशित मिति:

बुटवल – नेयमारले यसै महिनाको अन्त्यतिरबाट शुरू हुने कोपा अमेरिकामा ब्राजिलको कप्तानी नगर्ने भएका छन् । ब्राजिलमै हुन लागेको प्रतियोगितामा ड्यानी आल्भेसलाई कप्तान बनाइने भएको हो ।

पेरिस सेन्ट जर्मानका सुपरस्टार नेयमारलाई प्रशिक्षक टिटेले सन् २०१८ को सेप्टेम्बर महिनामा स्थायी कप्तान बनाएका थिए । तर अहिले उनलाई ३६ वर्षीय आल्भेसले रिप्लेस गरेका छन् ।

सोमवार एउटा वक्तव्य जारी गरेर ब्राजिलियन फूटबल कन्फेडेरेसनले जनायो, ‘टिटेले शनिवार नेयमारलाई यो निर्णयका बारेमा बताएका थिए ।’ नेयमारले फ्रान्सेली लीगमा पीएसजीका लागि यस सीजनमा खासै राम्रो प्रदर्शन गर्न सकेनन् । त्यहाँ पनि प्रशिक्षक टमस टुचेलले नेयमारलाई कप्तान बनाउन मानेनन् ।

नेयमारले सबै प्रतियोगितामा गरी यस सीजनमा २३ गोल गरेका छन् । तर उनी पाँचौं स्थानमा रहे । उनकै क्लबका किलियन एम्बाप्पे र एडनसन काभानी उनीभन्दा अघि रहे । गत वर्षको विश्वकपमा पनि ब्राजिल क्वार्टरफाइनलसम्म मात्र पुग्न सकेको थियो । ब्राजिलले कोपा अमेरिकाको पहिलो खेल बोलिभियाविरुद्ध जेठ ३१ मा खेल्नेछ । – गोल डट्कमबाट