बम विस्फोटको नकारात्मक असरः अष्ट्रेलियाले जारी गर्यो दोस्रो तहको ट्राभल एडभाइजरी
काठमाडौं – गएको आइतबार नेपालको संघीय राजधानी काठमाडौमा बम विस्फोटबाट चार जनाको मृत्यु भएपछि अष्ट्रेलियाले नेपाल आउन चाहने आफ्नो देशका नागरिकलाई नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ ।
डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेड (डीएफएटी)का तर्फबाट सो ट्राभल एडभाइजरी जारी गरिएको हो । काठमाडौंमा भएको विस्फोटमा प्रेसर कुकर बम विस्फोट भएको नेपाली अधिकारीहरुले जनाएको उल्लेख गर्दे सो एडभाइजरीमा उक्त बम नेपालमा सन् २००६ अगाडि तत्कालीन माओवादी गुरिल्लाले सेनालाई आक्रमण गर्दा प्रयोग गरेकै खालको भएको समेत दाबी गरिएको छ ।
अष्ट्रेलियाले आफ्ना नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै जारी गरेको एड्भाइजरी दोस्रोे तहको हो । अष्ट्रेलियाले चार तहका एडभाइजरी जारी गर्ने गरेको छ । जसअन्तर्गत पहिलो तहमा सामान्य सुरक्षा सतर्कता अपनाउन, दोस्रो तहमा अत्यधिक सतर्कता अपनाउन, तेस्रो तहमा भ्रमणमा पुनर्विचार गर्न र चौथो तहमा भ्रमण नगर्न सचेत गराइन्छ ।
दोस्रो तहको अर्थ पहिले नै योजना बनाइएको भ्रमण स्थगित गर्नु नपर्ने जनाउँदै थप होसियारी अपनाउन भनिएको हो । त्यो क्षेत्रमा अझै ठूला त्यस्ता घटना हुन सक्ने खतरा रहेकोले पत्रपत्रिका हेर्न र सामाजिक सञ्जाल पछ्याउन समेत अष्ट्रेलियाले नेपाल जान चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ ।












