विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ रमाइलो बजार नजिकै रहेको मकालु मोरङ इङलिस स्कुलमा अध्ययनरत एक विद्यार्थीको स्वास नलीमा चिउरा अड्किएर मृत्यु भयो । तर बालकका आफन्तले भने समयमै अस्पताल नपुर्याउनु विद्यालयको लापरवाही मान्छन् ।मकालु मोरङ स्कुलको कक्षा ३ मा अध्ययनरत ११ वर्षीय बालक आर्यन माझीको मृत्यु भएको हो ।
घटना मंलगबारको हो । कानेपोखरी– ५ जहदामा हजुरआमासँग बस्दै आएका माझीले दिउँसो टिफिनमा खाजा खाएपछि विरामी परेका थिए । आर्यनले टाउको दुख्यो भन्दै बान्ता गरेपछि शिक्षकले अफिसमा लगेका थिए । त्यहाँ पनि उनले पटकपटक बान्ता गरे ।नजिकै मेडिकल हलहरु भए पनि शिक्षकले लगेनन्, आफै फ्लेक्जोन खुवाए । औषधी खुवाएर प्रिन्सिपल टेइन्द्रकुमार बास्तोला कक्षा कोठातर्फ लागे । ४० मिटेको कक्षा सिकएपछि अफिस आउँदा आर्यन बेहोस भइसकेका थिए । उनले अस्पताल लैजान एम्बुलेन्स बोलाए । बच्चा विरामी भएको डेढ घण्टापछि साढे ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइयो । एक घण्टाको प्रयासपछि अस्पतालले बालकलाई मृत घोषणा गर्यो ।
११ वर्षिय बालक मावलमा बसेर पढ्दै आएका थिए । उनका बुबा सम्पर्कबिहीन छन् भने आमा वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेकी छन् । मावली हजुरआमासँग बसेर अध्ययन रहेका बालकको स्वास्थ्यमा स्कुलले चासो नदिँदा ज्यान गएको स्थानीय बताउँछन् । ‘बच्चा १ः४० मा विरामी भएको तर, साढे ३ बजे मात्र एम्बुलेन्स बोलाएर अस्पताल लगे’ स्थानीय बालकुमार राई भन्छन्, ‘स्कुलले केयरलस गरे जस्तो लाग्छ ।’कानेपोखरी गाउँपालिका– ५ का वडा अध्यक्ष चरण गुरुङ विरामी अवस्थामा अफिस आएको बच्चालाई उपचार गर्न लैजान ढिलो गरेको बताउँछन् ।स्थानीयबासीकाअनुसार अनुसार स्कुलदेखि करिब ६०० मिटर पूर्वतर्फ रमाइलो बजार छ, जहाँ औषधि पसल र चिकित्सकिय सेवा प्रवाह गर्ने मेडिकल हलहरु छन् । बालक विरामी हुँदा मेडिकल हल नलगेर आफैं औषधि दिएर अफिसमा राख्नु गल्ती भएको उनीहरु बताउँछन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक सुवास भट्टराईकाअनुसार बालकको मृत्यु भएपछि उनका मामा टेकबहादुर माझीले अनुसन्धानका लागि जाहेरी दिएका छन् । ‘बच्चा टिफिनमा खाजा खाइसकेपछि विरामी भएको देखिन्छ’ उनी भन्छन, ‘एक–सवा घण्टापछि एम्बुलेन्स ल्याएर धरान लगेको रहेछ ।’उनी समयमै उपचारका लागि लगेको भए बाच्न सक्ने अवस्था रहने बताउँछन् । बच्चाको मृत्यु भएपछि अनुसन्धान सुरु गरेको बताउ“दै उनले पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने बताए ।अस्पतालले प्रारम्भीक रुपमा चिउरा स्वासनलीमा अड्किएर मृत्यु भएको बताएको छ ।












