काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् सांसद हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो रूपमा पार्टी र सरकार चलाउने कुरा पुरानो सहमति भएको स्पष्ट पारेका छन् ।
शनिवार राजधानीमा रिपोर्टर्स नेपालले गरेको साक्षात्कारमा बोल्दै गजुरेलले भने, ‘यो कुरा त पहिलेदेखि नै मिडियामा आइरहेका कुरा हुन् । उहाँहरू दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ । आलोपालोमा सहमति भइसकेको छ ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरे । उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए । ‘अब पार्टीभित्र कार्यविभाजन पनि छिट्टै टुंगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ,’ उनले थपे ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटबाट जोगाउनको लागि पनि एकता महत्वपूर्ण भएको उनको भनाइ छ । उनले नेपालका नेताहरूले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए । उनले भने, ‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ । मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ ।’ यस वर्षको बजेट राम्रो आएको उनको प्रतिक्रिया छ । तर बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएकोमा भने उनले असन्तुष्टि पोखे । उनले भने, ‘नारामा त कृषि क्षेत्रको बारेमा धेरै कुरा बोलियो तर व्यवहारमा त्यस्तो देखिएन । कृषि क्षेत्र प्राथमिकतामा नै परेन ।’












