आइजीपी खनालविरुद्ध गृहको अनुसन्धान, रोकियो भारत भ्रमण

प्रकाशित मिति:

काठमाडौं – प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बिमस्टेक सुरक्षा प्रमुख बैठकमा नेपालको परराष्ट्र नीति विपरित कार्य गरेको विषयमा गृह मन्त्रालयले छानबिन अघि बढाएको छ। उनीसँगै बैठकमा भाग लिन बैंकक गएका प्रतिनिधिमण्डलका अन्य सदस्यसँग सोधपुछ गरेको छ।

प्रारम्भिक छानिबनपछि महानिरीक्षक खनालले राष्ट्रिय नीतिविपरित गई बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) बैठकमा मत जाहेर गरेको निष्कर्ष निकालेको हो।

‘सबै पृष्ठभूमि बुझ्दा नियोजित रुपमै स्वतन्त्र र सार्वभाैम राष्ट्र नेपालको परराष्ट्र नीतिविपरित अन्तर्राष्ट्रिय मञ्चमा पेश भएको देखियो’, गृहका एक अधिकारीले नेपालखबरसँग भने, ‘महानिरीक्षक खनाल अन्य देशका प्रतिनिधिलाई समेत पाकिस्तानविरुद्ध उभ्याउन सक्रिय भएका रहेछन्।’