काठमाडौं – अमेरिकाले विद्यमान भिसा नीति परिवर्तन गर्दै भिसा आवेदकलाई नयाँ नियम लागू गर्ने भएको छ। भिसा आवेदकले सामाजिक सञ्जाल र व्यक्तिगत इमेलको विवरणसमेत अनिवार्यरूपमा बुझाउनुपर्ने व्यवस्था गर्दै छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालको नाम, पाँच वर्षयता प्रयोगमा रहेको इमेल ठेगाना र फोन नम्बरको विवरण बुझाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको हो। अमेरिकी नागरिकलाई सुरक्षा प्रत्याभूत गराउन र वैधानिक तरिकाले मात्रै अमेरिका भ्रमण गराउन यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी भएको बेलायती सञ्चार माध्यम बीबीसीले जनाएको छ।
पछिल्लो अमेरिकी नीतिबारे विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले भनेको छ– ‘तर, केही कूटनीतिज्ञ र औपचारिक भिसाका आवेदकको हकमा भने यो नियम लागू नहुने बताइएको छ।’ वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा यस्तो प्रस्ताव गरेपछि अमेरिकामै आलोचना भएको थियो। अमेरिकी नागरिक अधिकारबारे वकालत गर्ने अमेरिकी सिभिल लिबर्टिजले यसको प्रभावकारिता र निष्पक्षतामाथि प्रश्न उठाएको थियो।
पछिल्लो अमेरिकी नीतिको प्रभाव नेपालमा समेत पर्ने भएको छ। भिसा नीति हेरफेर गर्नु कुनै पनि देशको नियम भए पनि इमेलको विवरण बुझाउनुपर्ने व्यवस्था अनिवार्य गरिएको खण्डमा व्यक्तिको गोपनीयता हनन् हुनसक्ने अमेरिकाका लागि पूर्वनेपाली राजदूत डा. शंकर शर्मा बताउनुहुन्छ।
‘फेसबुक र अन्य सामाजिक सञ्जाल सार्वजनिक प्रयोजनका लागि भए पनि इमेलका कतिपय कुरा नितान्त व्यक्तिगत हुन्छन् उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पछिल्लो नीति कसरी कार्यान्वयन हुन्छ, त्यो हेर्न बाँकी छ।’ व्यक्तिको गोपनियताको हकबारे अमेरिकाभित्रै असन्तुष्टी छाउने शर्माको भनाइ छ। कूटनीतिक मामिलाका जानकार एवं पूर्वराजदूत पुष्करमान सिंह राजभण्डारीको बुझाइमा नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि अमेरिकी कदमले व्यवहारिक कठिनाइ थप्न सक्छ। नेपाल–अमेरिका सम्बन्ध सधैं राम्रो भएकाले अमेरिकी नीति नेपालप्रति लचक बनाउन बेलैमा कूटनीतिक पहल अघि बढाइनुपर्नेमा उहाँ जोड दिनुहुन्छ। राजभण्डारीले भन्नुभयो– ‘अमेरिकामा रहेका नेपाली कुनै आतंकवादी गतिविधिमा सामेल भएको त्यस्तो कुनै उदाहरण छैन, त्यसैले अमेरिकाले नेपाललाई फरक ढंगले बुझ्नु जरुरी छ।’












