छुट्टाछुट्टै सवारी दुर्घटनामा परि सर्लाहीमा ३ को मृत्यु ४ जना घाईते

प्रकाशित मिति:

सोम दियाली, सर्लाही ,जेष्ठ ३० । छुट्टाछुट्टै सवारी दुर्घटनामा परि सर्लाहीमा ३ जनाको मृत्यु हुनुका साथै ४ जना घाईते भएका छन् । जिल्लाको हरिपुर नगरपालिका वडा नं. ७ चितायन टोल स्थित भित्री सडक खण्डमा हरिपुरबाट बयलबास तर्फ जादै गरेको ना २५प ६९२२ नम्वरको मोटरसाईकल र विपरित दिशाबाट आई रहेको ज ५ प ७८८६ नम्वरको मोटरसाईकल बुधवार राति साढे १० बजे एक आपसमा ठोकिदा दुवै मोटरसाईकल चालकको ज्यान गएको हो । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं. १५ बस्ने ३० वर्षिय अनिल चौधरी र वडा नं. १४ बस्ने ३५ वर्षिय अशोक चौधरी रहेका छन् ।

दुर्घटना पछि गम्भिर घाईते भएका दुवै मोटरसाईकलचालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लगिएकोमा उनीहरुको विहिवार विहान ३ बजे मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घट्नामा घाईते भएका मध्ये ईश्वरपुर नपा वडा नं.१४ बस्ने १७ वर्षिय धिरेन्द्र चौधरी र लालबन्दी नगरपालिका वडा नं. ४ बस्ने २१ वर्षिय सन्तोष चौधरीको अवस्था चिन्ता जनक रहेकोले थप उपचारका लािग बिरगंज रिफर गरिएको छ । त्यस्तै ईश्वरपुर नगरपालिका – १५ बस्ने २१ वर्षिय अक्षय चौधरी र २१ वर्षिय रामवाबु चौधरीलाई भने सामान्य उपचार पश्चात घर फर्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिए । त्यस्तै बुधवार राति नै १ बजे मलंगवा न.पा.९ स्थित बसर्पाक नजिकै रहेको पोखरीमा ना २ ह १२२३ नम्बरको टेम्पु आफै अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पुमा सवार बरहथवा नगरपालिका वडा नं. ५ घर भई हाल मलंगवा नगरपालिका वडा नं.४ मा डेरा गरि बस्दै आएको ३५ वर्षिय रबि मेस्तर रेहका छन् । पोखरीको पानीमा तैरी रहेको अवस्थामा मेस्तरको शव परिवारले फेला पारेका थिए । टेम्पो पल्टेकोे थाहा पाई पोखरीमा हेर्न जाँदा मेस्तरको मृत्यु भई सकेकोले उनको श्रीमती र छोराछोरीले शव निकाली घरमा ल्याई राखेको प्रहरीले जनाएको छ । घट्नाका सम्बन्धमा अन्य अनुशन्धान भई रहेको छ । टेम्पु चालक मलंगवा न.पा.९ बस्ने बर्ष ४५ को मिश्रीलाल मेस्तर फरार रहेकोले उनको खोजी भई रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईले बताए ।