एकातिर विस्थापितको रुवाबासी, छेउमा कभर्डहल शिलान्यास हुंदै

प्रकाशित मिति:

सबलपोष्ट,बुटवल/चुनावका बेला भोट माग्न आउंदा तपाईहरु सबैलाई लालपुर्जा दिन्छौं भने,अहिले ४८ वर्षदेखि बसेको ठाउंबाट डोजर लगाएर हटाएर अलपत्र पारे, अब हामी कहां जाने बरु यही अनसन बसेर मर्छौं’ – यो भनाई हो बुटवल १ जामे मस्जिद अगाडि बुटवल उपमहानगरपालिकाले डोजर लगाएर वस्ती भत्काइदिएपछि विस्थापित भएका ६५ वर्षिय हरिबहादुर विश्वकर्माको । ९५ वर्षिया करिदरुन निशाको त अवस्था झन् बेहाल छ, श्रीमान र छोरा नभएकी र छोरीसंग बस्दै आएकी उनी उपमहानगरपालिकाले घर भत्काइदिएपछि रुंदै दिन कटाइरहेकी छन् ।

जोसंग भेट हुंदा पनि उनी धरधरी रुन शुरु गरिहाल्छिन् तर उनको पीडा कसले सुनिदिने । हरिबहादुर र कििदरुन निशा जस्तै १६ परिवार शनिबार बिहानैदेखि आफूहरु बस्दै आएको ठाउंमा अनसन बस्न थालेका छन् । उनीहरुले आफूहरुमाथि उपमहानगरपालिकाले घोर अन्याय गरेको भन्दै वैकल्पिक व्यवस्था नभएसम्म उक्त ठाउं नछाड्ने बताएका छन् । बुटवल–१ स्थित जामे मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले बिहीबार डोजर लगाएर भत्काइदिएपछि उनीहरु घरबारविहीन भएका छन् यो जग्गाबारे अदालतमा मुद्दा छ,मुद्दाको अन्तिम फैसला भएको छैन ।

वर्षात शुरु हुने आफूहरुलाई घरवारविहीन बनाएर अलपत्र पारेको उनीहरुको दुखेसो छ । विश्वकर्माले आफूहरुले २०२८ सालदेखि अर्थात ४८ वर्षदेखि वर्षदेखि उक्त जग्गा संरक्षण गर्दै बसेको बताउंछन् । उपमहानगरपालिकाले वैकल्पिक व्यवस्था नगरी हटाउन नमिल्ने उनको तर्क छ । उक्त जग्गा तत्कालीन स्वर्गीय श्री ३ बडामहारानीको जग्गा भएको बताइन्छ । उक्त स्थानमा आजै बुटवल उपमहानगरपालिकाले ४० लाख लागतमा कभर्ड हल शिलान्यास गर्ने तयारी गरेको छ । वडा नंं १ का अध्यक्ष महेन्द्र लिगलले अख्तियारको निर्देशन अनुसार उक्त जग्गा खाली गराएर उपमहानगरले कभर्ड हल बनाउने योजना बनाएको बताए । घोडा बांध्ने तबलाको रुपमा रहेको उक्त टहरामा ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु समुदायका बस्दै आएका थिए । उपमहानगरपालिकाले वस्तीमा डोजर लगाएर ४८ वर्षदेखि वस्दै आएका गरीब तथा विपन्न परिवारलाई विस्थापित गराएको भन्दै घटनाप्रति औपचारिक रुपमै विरोध जनाएका छन् ।