रुसी विद्युतीय प्रणालीमा अमेरिकी साइबर हमला

प्रकाशित मिति:

एजेन्सी – अमेरिकाले रुसमाथि साइबर हमला तीव्र पारेको छ। यही क्रममा रुसी विद्युतीय प्रसारण प्रणालीमा घातक सफ्टवेयर (मालवेयर) घुसाउने सफलता मिलेको न्युयोर्क टाइम्सले दाबी गरेको छ। रसियाली प्रसारण प्रणालीमा यस्तो खाले मालवेयर छिराउने प्रयास यसअघि भएको थिएन। वासिंगटनले यतिखेर यो कदम चेतावनीस्वरुप उठाएको हो। रुससँग कुनै गंभिर संकट उत्पन्न भएको खण्डमा उक्त मालवयर प्रयोग गरी प्रणाली ठप्प पार्ने सामथ्र्य अमेरिकासँग हुनेछ।

टाइम्सले दुई उच्चाधिकारीलाई उद्धृत गर्दै रुसी विद्युतीय प्रणालीमा घुसाइएको अमेरिकी कम्प्युटर कोडबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै जानकारी नदिइएको उल्लेख गरेको छ। पेन्टागन र खुफिया अधिकारीहरु रुसविरुद्धको साइबर कारवाहीको विस्तृत विवरण ट्रम्पलाई भन्न हिचकिचाइरहेका छन्। ट्रम्पले कस्तो प्रतिक्रिया देलान भन्ने अन्योलसँगै कारवाही नै रोकिदेलान वा विदेशी अधिकारीहरुसँग कुरा खुस्काउलान भन्ने उनीहरुलाई लागिरहेको छ।

सन् २०१७ मा ट्रम्पले हवाइट् हाउस वैठकमा रुसी विदेश मन्त्री सर्गेइ लाभारोभ र अमेरिकाका लागि रुसी राजदुतसँग अति नै गोप्य सुचना खुस्काएका थिए। वासिंगटन पोष्टले यसबारे समाचार प्रकाशित गरेको थियो। सिएनएनले पनि यसलाई पुष्टि गरेको थियो। रुसी विद्युतीय प्रणालीमा अमेरिकी कम्प्युटर कोड घुसाइएको र अन्य निशानाहरुमा पनि यस्तै घुसपैठ गरिएको विषय वहालवाला र पुर्व सरकारी अधिकारीहरुसँग तीन महिना लगाएर गरिएको अन्तर्वार्ताबाट खुल्न आएको टाइम्सले दाबी गरेको छ।

कँग्रेसले गत वर्ष अनुमोदन गरेको सैन्य अधिकार विधेयकमा विद्यमान प्रावधानका आधारमा रुसी विद्युतीय प्रणालीमा धावा बोलिएको हो। यो कानुनका आधारमा रक्षा मन्त्रीले राष्ट्रपतिको पुर्व स्वीकृतिबिनै ‘साइबरस्पेस’ मा गोप्य सैन्य गतिविधि सन्चालन गर्न सक्छन्। ट्रम्पले तदनुसारको कार्यादेश अमेरिकी साइबर कमाण्डलाई गत वर्ष नै दिइसकेका हुन्। जसअनुसार साइबर कमाण्डका प्रमुख जर्नेल पाउल नाकासोनेले आक्रमक अनलाईन कारवाही अगाडि बढाउन सक्छन्।

हवाइट् हाउस प्रशासनले यस विषयमा केही बोलेको छैन। तर सम्वद्ध पुर्व तथा वहालवाला अधिकारीहरु चाहिं सन् २०१२ देखि रुसी विद्युतीय प्रणालीमा हस्तक्षेपकारी कारवाही थालेको बताउँछन्। साइबर कमाण्ड प्रमुख नाकासोनेले पनि यसबारे बोल्न अस्वीकार गरे।