असारको महिना ,धान रोप्न व्यस्त बिराज

प्रकाशित मिति:

काठमाडौँ –असार महिना । अहिले किसानहरुलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ । खेतको हिलामा पसेर छुपुछुपु धान रोप्दै रोपाहारहरुले एकै स्वरमा गाएको असारे गीतले गाउँपाखा गुञ्जयमान हुन थालेका छन् । सधैं एक्सन(कटमा रमाउने अभिनेता विराज भट्ट पनि धान रोप्न डोटीको हिलो खेतमा छिरेका छन् । तर, फिल्मका लागि । उनको निर्देशन र प्रमुख भूमिका रहेको फिल्म ‘साङ्लो’ मा हालै धान रोपेको दृश्य खिचिएको छ ।

डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि विवादमा तानिएको यस फिल्मको सेटबाट विराजले हिलो खेतमा रोपाहारहरुसँग धान रोपिरहेको तश्विर बाहिरिएको छ । प्राप्त तश्विरमा उनीसँग पूर्व मिस नेपाल निकिता चाण्डक पनि देखिएकी छन् । फिल्ममा दुईको जोडी बाँधिएको छ । दोस्रो तश्विरमा निकितालाई निख्खर रातो साडीमा देख्न सकिन्छ । उनको साथमा विराज पनि छन् । केही दिन अगाडि डोटीमा एक आकर्षक मण्डप तयार गरेर विराज र निकिताको विवाहको दृश्य समेत खिचिएको जानकारी प्राप्त छ । फिल्ममा उनीहरु प्रेमप्रेमिका हुँदै श्रीमान्श्री मतिको भूमिकामा देखिनेछन् । फिल्मलाई लिएर निकिता निकै उत्साहित छिन् । यसअघि उनले फिल्म रानी महल साइन गरेकी थिइन् । तर, आधा छायांकन नसकिँदै अब कहिल्यै नबन्ने गरि फिल्म रोकियो । यसपछि उनी ‘साङ्लो’ मा जोडिइन् ।

यो फिल्मबाट विराजले करीब ३ वर्षदेखि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उक्त फिल्मबाट उनले निर्देशनमा समेत डेब्यू गरेका छन् । किड्नी तस्करीको कथामा आधारित ‘साङ्लो’ मा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि फिल्म लभ स्टेशन मा उनले अभिनय गरेका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर।पि। पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ ।