काठमाडौं -वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।अधिकारीले भने, ‘चौधरीको खुट्टामा कसले नेल लगाएको हो, उसलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।
चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । समाजवादी पार्टी र राजपा का नेताहरुले पनि यो घटनाबारे आपत्ति जनाएका थिए ।समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै गएर भेटेका थिए । उनले सरकारको व्यवहारको आलोचना गर्दै नेल तत्काल खोल्न माग गरेका थिए ।त्यसैगरी रेशम चौधरीमाथि गरिएको दुव्यवहारको विरोध गर्दै प्रगतिशील साहित्यकार आहुतीले स्टाटस लेखेका छन्– ‘हाम्रो समयको दलाल पुँजीवादी तथा हिन्दू उच्च जातवादी राज्यको कुरूप हर्कतको फोटो दस्तावेज हो यो, जसलाई न्यायप्रेमी नागरिकले कहिल्यै बिर्सने छैनन् ।’












