६ दलको माग :  वैकल्पिक व्यवस्थाविना कभर्ड हल नबनाऊ

प्रकाशित मिति:

बुटवल, ७ असार । बुटवल उपमहानगरपालिकाले डोजर लगाएर वस्ती भत्काइदिएपछि विस्थापित भएका १६ परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न ६ दलले माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,सत्तारुढ समाजवादी पार्टीसहितका ६ दलका नगर समितिले बुटवल–१ मस्जिद टोलका १६ परिवारलाई बसोबासको वैकल्पिक व्यवस्था गर्न माग गरेका हुन् । ती दलले विस्थापितलाई वैकल्पिक व्यवस्था नगरेसम्म मस्जिद निर्माणको काम अघि नबढाउन समेत माग गरेका छन् ।

नेपाली कांग्रेस नगर उपसभापति विमलराज भट्टराई,समाजवादी पार्टी नगर अध्यक्ष बामदेव भुसाल,साझा विवेकशील पार्टीका सुदन ज्ञवाली,राप्रपाका निरजप्रताप खांण,क्रान्तिकारी माओवादीका विनोद मरासिनी र राष्ट्रिय जनमुक्ति पार्टीका हरिओम विकले संयुक्त विज्ञप्ति जारी गर्दै बुटवल उपमहानगरले ४८ वर्षदेखि बस्दै आएको ठाउंबाट वैकल्पिक बसोबासको व्यवस्था विना वर्षायाममा विपन्न परिवारलाई विस्थापित गरेकोमा आपत्ति र खेद व्यक्त गरेका छन् । विस्थापित परिवारलाई तत्काल,गास,बास र कपास र स्वास्थ्य उपचारको व्यव्यस्था गर्न बुटवल उपमहानगरपालिकासंग ६ दलले माग समेत गरेका छन् । बुटवल–१ स्थित रजा ए मुस्तफा मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले दुई हप्ता अघि डोजर लगाएर भत्काइदिएपछि घरबारविहीन भएका उनीहरु वैकल्पिक व्यवस्थाको माग गर्दै अनसनमा छन् ।

अदालतमा मुद्दा चलेको र अन्तिम फैसला नहुंदै उपमहानगरले बलपुर्वक वर्षायामको मुखमा आफूहरुलाई घरवारविहीन बनाएर अन्याय गरेको भन्दै उनीहरुले न्याको माग गरेका छन् । तत्कालीन स्वर्गीय श्री ३ बडामहारानीको जग्गाले चर्चेको उक्त स्थानमा उपमहानगरपालिकाले ४० लाख लागतमा कभर्ड हल बनाउने भन्दै शिलान्यास गरेको छ । मस्जिद व्यवस्थापन समितिले समेत उपमहानगरपालिकाले मस्जिदलाई आवश्यक पर्ने पार्किङ क्षेत्र नछोडी कभर्ड हल बनाउन खोजेको भन्दै विरोध गरेको थियो । मस्जिद समितिको विरोधपछि उपमहानगरले ३० फुट पार्किङ स्थलका लागि छाड्न सहमत भएको अध्यक्ष मकबुल मियाले बताए ।  घोडा बांध्ने तबलाको रुपमा रहेको उक्त टहरामा ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु समुदायका बस्दै आएका थिए ।