कम्बोडियामा बन्दै गरेको भवन भत्किँदा १८ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – कम्बोडियामा बन्दै गरेको एक भवन शनिवार भत्किँदा १८ जनाको मृत्यु भएको एक अधिकारीले जनाएका छन् । उद्धारकर्ताहरूले भवनको भग्नावशेषमा पुरिएर हराइरहेका कामदारको खोजीमा कठिनाइको सामना गर्नुपरेको छ । स्टील र सिमेन्टबाट बनेको सात तल्ले भवन राजधानी नोम पेन्हको पश्चिममा पर्ने तटीय शहर सिहानूकभिलमा थियो । चिनियाँ कम्पनीले उक्त भवन बनाइरहेको थियो ।

कम्तीमा २४ जना घाइते भएको र भवन भत्किनेबित्तिकै कामदारहरू च्यापिएको स्थानीय प्रान्तका प्रवक्ता प्रेयाह सिहानूकले बताए । प्रान्तीय कार्यालयले आइतवार जारी गरेको वक्तव्यमा ४० प्रतिशत भग्नावशेष हटाइएको जानकारी दिइएको छ । कतिजना हराइरहेका छन् भन्ने कुरा खुलेको छैन ।

प्रेयाह सिहानूक प्रान्त र त्यहाँको सबभन्दा ठूलो शहर सिहानूकभिलमा विगत केही वर्षयता चीनले क्यासिनो, घरजग्गा र पर्यटनको क्षेत्रमा लगानी बढाएको छ । यहाँ नै कम्बोडियाको सबभन्दा ठूलो बन्दरगाह छ र चिनियाँ विशेष आर्थिक क्षेत्र पनि यहीँ छ । चिनियाँ पर्यटक र लगानीकर्ताका लागि यहाँ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । प्रहरीले तीन निर्माण पर्यवेक्षक लगायत चारजना लाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । – एजेन्सी