वशिंटन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका राष्ट्रपति ट्रम्प दुई दिने दक्षिण कोरिया भ्रमणका लागि आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा त्यहाँका राष्ट्रपति मुन जाए इनसँग पनि भेटवार्ता गर्नेछन् । दुई नेताबीचको भेटवार्ताका क्रममा कोरियाली प्रायद्विपलाई आणविक निशस्त्रीकरण गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
उनले दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर तथा दक्षिण कोरियालाई छुट्याउने असैनिक क्षेत्रको अवलोकनका लागि समेत जाने कार्यक्रम छ । सन् २०१७ मा दक्षिण कोरियाको भ्रमणमा गएका ट्रम्पले त्यसबेला नै असैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेपनि भारी तुवाँलोका कारण त्यसतर्फ गएका थिएनन् । अमेरिका र उत्तर कोरियाबीच आणविक निशस्त्रीकरणको दिशामा पहल हुन नसकिरहेका बेला हालै ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई पत्र लेखेको समाचार सार्वजनिक भएपछि कोरियाली वार्ता अघि बढ्ने आशा पलाएको बताइएको छ । त्यसलगत्तै हुन लागेको ट्रम्पको दक्षिण कोरिया भ्रमणलाई भने निकै महत्वका साथ हेरिएको छ ।












