ट्रम्पका दुई वरिष्ठ अधिकारीले दिए राजीनामा

प्रकाशित मिति:

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक दिनमा दुई झड्का बेहोर्नुपरेको छ । जापानमा हुन लागेको जी–२० शिखर सम्मेलनभन्दा ठीक अघि ट्रम्पका प्रोटोकल प्रमुख सीन लोलरले पदत्यागको घोषणा गरेका छन् । अनि अमेरिकी सीमा शुल्क तथा सीमा सुरक्षा निकायका कार्यवाहक आयुक्त जोन स्यान्डर्सले पनि मंगलवार पदत्यागको घोषणा गरे । टेक्सासमा प्रवासी बालबालिकाको चिन्ताजनक अवस्थाका विषयमा चर्को स्वर उठेपछि उनले राजीनामाको घोषणा गरेका हुन् । उनलाई दुई महिनाअघि मात्र यस पदमा नियुक्त गरिएको थियो ।

अब मार्क मोर्गनले सीमा प्रमुखको पदभार सम्हाल्नेछन् । लोलर आफ्ना कर्मचारीहरूको व्यवस्थापनसँग जोडिएको एक अनुसन्धानको सामना गरिरहेका छन् । लोलरको पद परराष्ट्र मन्त्रालयमा राजदूत सरहको थियो । प्रोटोकल प्रमुखका रूपमा उनले राष्ट्रपति विदेशी नेताहरूसँग भेट्दा औपचारिकता निर्वाह गर्ने जिम्मेवारी पाउँछन् । बुधवारबाट शुरू हुने ट्रम्पको जापान तथा दक्षिण कोरिया भ्रमणमा कसले यो जिम्मेवारी सम्हाल्छ भन्ने प्रस्ट छैन ।

अमेरिकी सीमा प्रमुख स्यान्डर्सले जुलाई ५ देखि राजीनामा दिने निर्णय गरेको बताए । टेक्सासको क्लिन्टमा सीमा गश्ती प्रतिष्ठानमा क्षमताभन्दा बढी मानिस राखिएको र बच्चाहरूलाई हिरासतमा राखिएको स्थान निकै फोहर भएको खुलासा भएपछि स्यान्डर्सको राजीनामा आएको हो । तर स्यान्डर्सले आफ्नो राजीनामाको कारण स्पष्ट पारेका छैनन् । – एजेन्सी