‘प्रेमगीत ३’ मा ‘प्रेम’ को भूमिकामा अनुभव

प्रकाशित मिति:

काठमाडौँ –फ्लोरमा ननिस्किँदै फिल्म ‘प्रेमगीत ३’ को चर्चा हेर्दा यस्तो लाग्छ, यसले बक्सअफिसमा आँधी ल्याउँदैछ । दर्शकमा यतिबेला कुनै फिल्मको सर्वाधिक चासो छ भने त्यो यही फिल्म हो । एकपछि अर्को भित्रिएका नयाँ तथा पुराना कलाकारका कारण यो फिल्म छायांकन अगावै बहुप्रतिक्षीत बनेको छ । चैत २८ मा फिल्म रिलिज हुने तय भइसकेको छ । दशैंपछि छायांकन सुरु हुँदैछ ।

‘प्रेमगीत’ को दुई सिरिजबाट आफूलाई ‘स्टार’ साबित गरेका अभिनेता प्रदीप खड्का ‘प्रेमगीत ३’ मा यथावत छन् । उनको बालापन अर्थात् ‘प्रेम’ को भूमिका भने बाल कलाकार अनुभव रेग्मीले निभाउने भएका छन् । उनीसँग मंगलबार साँझ निर्माण टिमले आधिकारिक रुपमा कागजी सम्झौता गरेको छ । अनुभव सुहाउने भएकै कारण फिल्ममा अनुबन्ध गरेको निर्माता सन्तोष सेनले बताए । उनी भन्छन्, ‘प्रेम प्रदीप खड्का सानो हुँदाको रोलमा अनुभव अत्यन्त फिट लाग्यो र हामीले उनीसँग सम्झौता गरेका छौँ ।’ ‘प्रेमगीत ३’ मा अनुबन्ध भएपछि अनुभवले ‘प्रेम’ को भूमिका निभाउन आफू उत्साहित रहेको बताए । उनी ‘प्रेमगीत’ फ्रेन्चाइजमा आबद्ध हुनु आफ्नो लागि ठूलो उपलब्धि मान्छन् । अनुभव ‘नाईं नभन्नू ल’ सिरिजबाट उदाएका एक ‘स्टार’ बाल कलाकार हुन् ।

‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली फिल्म क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ । फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।