कमल पोखरीको पुनर्निर्माण सुरु

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको काम पनि सुरु गरिएको छ । बिहीबार कमलपोखरीमा एक कार्यक्रममा बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पोखरीको पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन् ।कार्यक्रममा बोल्दै मेयर शाक्यले सो पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा पनि गरे । उनले सो पोखरी पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई पनि सचेत गराए । त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने मेयर शाक्यको प्रतिवद्धता छ ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले सो पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गरे । उनले निर्माण कम्पनीलाई पनि समयमै सो पोखरीको पुनर्निर्माण नगरे कारवाही गर्ने चेतावनी पनि दिए । पोखरी निर्माणका लागि निर्माण कम्पनीलाई सबैले सहयोग गर्ने पनि नेता थापाले बताए । काठमाडौं महानगरपालिका र स्थानीयको सहकार्यमा निर्माण गर्न लागिएको सो पोखरी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।