सरकारलाई अर्को झटका : राष्ट्रपतिले पुनर्विचार गर भन्दै फिर्ता गरिन् राहदानी विधेयक
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि आएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता गरेकी छिन् । प्रतिनिधिसभाको गत वैशाख २६ को बैठकबाट पारित भई प्रमाणीकरणका पेश भएको राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले फिर्ता गरेकी हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा संसदमा मुख्य सचिव मनोहरप्रसाद भट्टराईले विधेयक फिर्ता भएको राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए । उक्त पत्रमा भनिएको छ, ‘प्रस्तावित विधेयक नेपालको संविधानबमोजिम प्रमाणीकरण भई यसले कानुनी रुप धारण गरेको अवस्थामा विधेयकमा विभिन्न राहदानी जारी गर्ने र त्यस्ता राहदानी प्रयोग गर्ने लगायतका प्रावधानले राहदानी जारी गर्ने र प्रयोग गर्ने विषयमा अस्पष्टता र दुविधा सिर्जना गर्ने सम्भावना रहेको देखिँदा प्रस्तुत विषयमा पुनर्विचार हुनु वान्छनीय भएकाले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम प्रतिनिधि भसामा फिर्ता पठाउने निर्णय गरेको छु ।’









