काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् । उनले भने, ‘म गएको त थिएँ, तर अर्कै काम परेर निस्किएँ ।’ उनले त्यो के काम हो भन्नेबारे खुलाएनन् । तर, उनका छोरा रविकिरण यादवले भने संसदमा जवाफ दिनुपर्ने भएकाले त्यसको तयारीका लागि बाहिरिएको बताए ।
सुरुमा मन्त्री यादवले आफू मन्त्रिपरिषद बैठकमा जाँदै नगएको बताएका थिए । तर, तपाईं गएर बीचमै बाहिरिनु भएको होइन र ? भन्ने प्रश्न गरेपछि मात्रै उनले आफू बैठकमा गएको तर धेरैबेर नबसेको स्वीकारेका थिए । बैठकमा कसैसँग कुनै विवाद नभएको उनले बताए । ‘बैठक नियमित हो, हिजो छलफल नसकिएपछि आज पनि बसेको हो,’ उनले भने । – अनलाइनखबर









