लोक सेवा आयोगद्वारा संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न संसद् र सरकारलाई सचेत

प्रकाशित मिति:

काठमाडौं – लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसद् दुवैलाई सचेत गराएका छन्। अध्यक्ष मैनालीले संविधानअनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद् र सरकार दुवैको कामलाई सघाउ पुग्ने स्पष्ट पारे। उनले संवैधानिक निकायको काम सरकार र संसद्‌लाई नै सहयोग पुर्‍याउनु रहेकाले उनीहरुको काममाथि अवरोध गर्न नहुने पनि स्पष्ट पारे।

बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै लोक सेवा आयोग, अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरुले उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने पनि स्मरण गराए। अध्यक्ष मैनालीले संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न पनि संघीय संसद्‌को ध्यानाकर्षण गराए। उनले आरक्षणसम्बन्धी कतिपय विषय स्पष्ट नभएकाले समावेशी कोटा निर्धारणमा आयोगलाई समेत समस्या पर्ने गरेको उल्लेख गरे। आरक्षणको उचित व्यवस्थाका लागि संघीय निजामति सेवा ऐनमा आवश्यक सुझाव दिन सम्बन्धित आयोगहरुलाई पनि अध्यक्ष मैनालीको आग्रह छ। अध्यक्ष मैनालीले नेपालको संविधान समावेशीताका दृष्टिले उत्कृष्ट रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सबै पक्षको ध्यान जानुपर्ने आवश्यकता पनि औंल्याए। – नेपाललाइभ