डुवानका बारेमा भारतसँग कुटनीतिक रुपमा कुरा गरौं, एकअर्कालाई दोष लगाएर हुँदैन – देउवा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी, डुवान र पहिरो पीडितका लागि सरकारले केही नगरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि भाग लिँदै सभापति देउवाले पीडितको उद्धार र राहतका लागि सरकारले केही नगरेको आरोप लगाए । जनतालाई दुख परेको बेलामा सरकारले तत्काल पुगेर काम गर्नु पर्नेमा त्यसो हुन नसकेको र सरकार गम्भीर नदेखिएको बताए । ‘सरकारले केही गरेको देखिएन’ सभापति देउवाले भने,‘ हेलिकोप्टरबाट कहाँ उद्धार हुन्छ । सरकार तात्नुपर्ने हो केही गरेको छैन, सरकार भनेको दुख परेको बेलामा तत्काल पुगेर गर्नु पर्ने होइन तर केही भएको छैन । ’

सरकारको कर्तव्य र दायित्व भएपनि राज्य उदासिन भएको उनको भनाइ थियो । ‘राज्यले नगरे कसले गर्ने । एउटा पार्टीले के गर्ने ?’ देउवाको प्रश्न थियो । डुवान क्षेत्रको भ्रमणमा गएका बेला आफूलाई तराईका जनताले भारतका कारण आफूहरु डुवानमा परेको बताएको भन्दै देउवाले संसदमा समस्या समाधानका लागि सरकारले भारतसँग कुरा गर्नुपर्ने बताए । ‘भारत सरकारसँग कुरा गर्नुपर्ने भएको छ । भारतले नेपाललाई र नेपालले भारतलाई दोष दिने गरेर कतिदिन चल्छ’ देउवाले प्रश्न गर्दै भने,‘ कुटनीतिक तवरमा कुराकानी गर्नपर्ने भएको छ । स्थानीयले भारतले डुवानमा पारो भन्छन् त्यसैले भारतले नेपाललाई र नेपालले भारतलाई दोष दिने जुन काम भएको छ त्यसलाई समाधान गर्न कुटनीतिक पहल गर्नुपर्छ, एकले अर्कालाई दोष दिएर हुँदैन ।’ डुवानको स्थायी समाधान सरकारले खोज्नु पर्ने उनको भनाइ थियो । कोशी व्यारेज बनेको बेलादेखि खोला किनारामा बस्दै आएका र व्यापार व्यवसाय गर्दै आएकालाई भारतले हटाउन खोजेको भन्दै देउवाले जनताको रक्षा गर्ने तर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।

‘कोशि व्यारेज बनेका बेलादेखि नै झुप्रा बनाएर बसेकाहरुलाई भारतले अहिले हट भनेछ त्यसबारेमा पनि भारतसँग कुरा गर्न आवश्यक छ’ देउवाले भने,‘ बाँध निर्माण गर्दा देखिनै बसेकाहरु कहाँ जाउँन् । त्यसबारेमा कुटनीतिक रुपमा कुरा गर्नुपर्छ ।’ उनले चुरेको दोहनले बाढी आएको भन्दै त्यसको समाधानका लागि सरकारले अध्ययन गर्नुपर्ने बताएका छन् । ‘सरकारलाई कुनै मतलव छैन । हेलिकोप्टरमा र हवाइजहाजमा गएर जनताको दुः ख ठिक हुन्छ ?’ देउवाले भने,‘सर्वदलीय टोली पठाएर हुन्छ कि के गरेर हुन्छ । यसमा राजनीति गर्नु छैन सबै एक भएर लागौं ।’कांग्रेस सभापति देउवाले बाढी पहिरो लगायतका विषयमा आफू गम्भीर रहेको भन्दै सरकारले यसबारेमा केही नगरे आफूहरुले थप कदम उठाउने चेतावनी दिए ।