उप-निर्वाचन मंसिर १४ गते गर्न निर्वाचन आयोगको सिफारिस

प्रकाशित मिति:

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा मसिंर १४ गते उपनिर्वाचन गराउन सिफारिस गरेको छ। आयोगले निर्वाचनका लागि उक्त मिति उपयुक्त हुने भन्दै बिहिबार सिफारिस गरेको निर्वाचन आयुक्त इश्वरी पौडेलले बताए। आयोगले सर्वपक्षीय छलफलका लागि राजनीतिक दलहरुसँगको परामर्श गरेको थियो। उक्त बैठकपछि आयोगले सरकारलाई आफ्नो परामर्शसहितको उक्त सिफारिस गरेको हो। कानुनअनुसार निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई रहेको छ। मन्त्रिपरिषद्ले मिति घोषणा गर्नुपर्ने हुन्छ।

तीन वटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव दिएको हो। प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्। स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तथा प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने कानुनी प्रावधान छ। सरकारले स्थानीय तहको मिति तोकेपछि सोही दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने गरी मिति तोक्ने आयोगको तयारी छ।