साउदीका महिलालाई मिल्यो ऐतिहासिक स्वतन्त्रता : अब पुरुषबिना नै एक्लै विदेश घुम्न पाउने

प्रकाशित मिति:

काठमाडौं – साउदी अरबका महिलाहरूले अब एक्लै विदेश घुम्न पाउने भएका छन्। शुक्रबारदेखि लागु भएको नयाँ कानुनअनुसार २१ वर्ष पुगेका साउदी महिला कुनै पुरूषको स्वीकृति नलिई विदेश घुम्न जान सक्छन्। यसअघि महिलाहरूले पासपोर्टको सिफारिस लिँदा नै पुरूष (बुवा, श्रीमान् वा अन्य आफन्त)लाई संरक्षकमा उल्लेख गर्नुपर्थ्यो। ती संरक्षकको स्वीकृतिपछिमात्र उनीहरूले पासपोर्ट पाउँथे।

साउदी महिलाहरू यसअघि देशबाट भागेर बाहिर शरणार्थी बन्ने गरेका थिए। गत जनवरीमा क्यानडाले साउदीबाट भागेकी एक जना १८ वर्षीय किशोरीलाई शरण दिएको थियो। नयाँ कानुनले महिलालाई पुरूष समान जन्मदर्ता, विवाह दर्ता र सम्बन्धविच्छेदको निवेदन पनि दिन सक्ने अधिकार दिएको छ। त्यस्तै महिलालाई रोजगारको अवसर र ज्याला पनि पुरूष समान दिइनेछ। साउदी राजकुमार मोहम्मद बिन सलमानले यसअघि महिलाहरूले सवारी चालक पत्र नपाउने नियमलाई हटाएका थिए।