बुटवल-बुटवलमा आउंदा गर्ने आफ्ना हरेक भाषणमा नेकपा महासचिव विष्णु पौडेलले नछुटाउने विषय हो– कालिगण्डकी–तिनाउ डाइभर्सन । मंगलबार पनि उनले यो विषय छुटाएनन् । पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सनको विरोध गर्दै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पाल्पा तथा स्याङजाका स्थानीय बासिन्दालाई मनाउने जिम्मा आफूले लिने बताए ।बुटवल कालिका क्याम्पस भवन शिलान्यासपछि बोल्दै पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री र प्रभावित जनताले कालिगण्डकी तिनाउ डाइभर्सनको विरोध गरेको प्रसंग कोट्याउंदै उनीहरुलाई आफूले कन्भिन्स गर्ने दावी गरेका हुन् । ‘
४ नं.प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको मैले पनि सुनेको छु,तर उहांहरुलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भो’–पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले भने–‘उहांहरुको चिन्ता तल्लो तटीय क्षेत्रहरुमा पानीको मात्रा नघटोस् भन्ने हो,त्यसको विकल्पमा हामी दिन्छौं र डाइभर्सन गराएरै छाड्छौं ।’ यो वर्षको अन्त्यसम्म कालिगण्डकी तिनाउ डाइभर्सनको डीपीआर तयार हुने उल्लेख गर्दै महासचिव पौडेलले ३० किलोमिटर सुरुङ खन्नुपर्ने भएकाले निर्माण हुन समय लाग्ने बताए । प्रदेश ४ का मुख्यमन्त्री गुरुङले कालिगण्डकी–तिनाउ डाइभर्सन आफूहरुको शीर छेदन जस्तै भएको भन्दै कुनै हालतमा अघि बढ्न नदिने बताउंदै आएका छन् । महासचिव पौडेलले पाल्पाको सिद्धबाबा क्षेत्रको १.३ कि.मि. सडकमा सुरुङमार्ग निर्माणको काम पनि चालु आर्थिक वर्षभित्रै शुरु हुने बताए । रुपन्देहीलाई पुर्वाधार विकासमा देशकै नमूना बनाउने दावी गर्दै उनले विकास आयोजनाहरुमा जनताको निगरानी कम भएकोले निगरानी र अनुगमन बढाउन आग्रह गरे ।









