काठमाडौँ –यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’ लाई चितवनबासीले मन पराएका छन् । लक्की मिडिया हाउसले सोमबार चितवनमा आयोजना गरेको विशेष प्रदर्शनीमा दर्शकले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए । अधिकांशले ‘साइनो’ लाई अर्गानिक फिल्म भन्दै प्रशंसा गरेको जानकारी प्राप्त छ ।
फिल्मको विशेष शोमा वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, ‘साइनो’ निर्मात्री भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धारा भुषाल, प्रथम रंगिन फिल्म कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो । फिल्मका मुख्य कलाकारहरु नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेललगायतका अन्य कलाकारहरु, निर्माता तथा निर्देशकको पनि कार्यक्रममा उपस्थिति थिए । ‘साइनो’ हेरेपछि वरिष्ठ कलाकार नीर शाहले शुद्ध नेपालीपनको फिल्म बनेको बताए । यस फिल्मबाट सम्भावना बोकेको निर्देशक र नव(नायक भित्रिएको उनको भनाई छ । वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले धेरैपछि मौलिक कथावस्तुको मुलधारको नेपाली फिल्म हेरेकोमा खुसी व्यक्त गरे । यो फिल्म यही साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्ममा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका अन्य कलाकारहरुको अभिनय छ । फिल्मलाई अभिमन्यु निरबीले लेखेका हुन् । फिल्ममा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् । ‘साइनो’ मा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । मोफसलका विभिन्न स्थानमा अहिले यो फिल्मको प्रचार प्रसारलाई पनि तिव्र बनाइएको छ । फिल्मले चितवनमा पाएको प्रतिक्रियाबाट निर्माण टिम निकै हौसिएको छ । अभिनेत्री मिरुना फिल्मले दर्शकसँग साइनो गाँस्न सफल हुनेमा विश्वस्त छिन् ।












