धरान, धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चुनाव हुने भएको छ । प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको पेशागत संगठन कर्मचारी कल्याण समाजको नयां कार्यसमितिको चुनाव हुन लागेको हो । प्रतिष्ठानको ३२औं संचालक परिषदवाट आधिकारिकता हासिल गरेको समाजको दोश्रो निर्वाचन हुन लागेको हो । प्रतिष्ठानले कर्मचारीहरुको अधिकार कटौती हुने गरी विधानको मस्यौदा प्रस्तुत गरेपछि उत्पन्न विवादका कारण लामो समयदेखि निर्वाचन नभएकाले आम कर्मचारीहरुको विधान सभाले पारित गरेको समाजको विधान, २०६८ बमोजिम नै नयां कार्यसमितिको निर्वाचन आगामी भदौ २८ गते हुन लागेको समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए । उनले निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालसंग समेत आवश्यक परामर्श लिइएको बताए । उनले विधान बमोजिम निर्वाचन सम्बन्धि सम्पूर्ण कार्य गर्नेगरी सागर ताम्राकार आयुक्त र प्रकाश श्रेष्ठ, संजय भट्टराई, विष्णुकुमारी चौधरी, रोशन कर्ण, सुनिल पराजुली र शिवजी यादव सदस्य रहेको सात सदस्यीय निर्वाचन समिति गठन गरिएको बताए ।
अध्यक्ष तामाङले धरानमा मंसिर १४ गते हुने मेयरको उपनिर्वाचनमा उठ्न राजिनामा दिन लागेकाले चुनावको घोषणा गरिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि समाजले यसअघि निलम्वन गरेका कर्मचारीहरुको कारवाही फिर्ता गरी निर्वाचन घोषणा गरेसंगै दुई समूहमा विभक्त कर्मचारीहरुमा खुशीयाली छाएको छ । अब हाम्रो एउटै संगठन हुनेछ र हामी एक हुनेछौं एक कर्मचारीले खुशी व्यक्त गर्दै भने । सुजेन्द्र सरले कर्मचारी एकताका लागि साहसका साथ अत्यन्तै राम्रो पहलकदमी गर्नुभएको छ । उहांको यो कदमको हामी स्वागत गर्छौं उनले थपे ।
समाजले नेपाल सरकारले वृद्धि गरेबमोजिम तलबभत्ता वृद्धि लगायत आन्तरिक बढुवा, करारको परफरमेन्स करार, परफरमेन्स करारको स्थायी, दैनिक ज्यालादारीको करार सम्बन्धि कार्य दशैतिहार अगावै गर्नुपर्ने । कर्मचारीको उचित मूल्यांकन, आवास विस्तार तथा व्यवस्थापन, अस्पताल सेवा विस्तार, शैक्षिक कार्यक्रम विस्तार, खानेपानी, सुरक्षा र सरसफाईको प्रभावकारी प्रबन्ध तथा प्रतिष्ठान र समाज वीच भएको २७ बुंदे सम्झौता कार्यान्वयन गर्न र शिक्षक÷कर्मचारीको अवकाशमा समान उमेरहदको व्यवस्थाका लागि तत्काल गृहकार्य शुरु गर्नुपर्ने माग पनि अघि सारेको छ ।









