चितवन। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेकामध्ये एक अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ । तर, समयाभावका कारण बाँकी दुई जनाको बयान भने आज सोमबार गर्नेगरी आजका लागि स्थगित गरिएको छ । अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध अभियोजन दर्ता गरेको थियो । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजालसमा रुकुको बयान भएको अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए । रुकुको बयान सक्दा कार्यालय समय पनि सकिएकाले बाँकी बयान आज ९सोमबार० का लागि सारिएको हो । तीन जनाको बयान लिएपछि थुनछेक बहस हुनेछ । पक्ष विपक्षका कानुन व्यवसायीको बहस सुनेपछि मात्रै न्यायाधीशले पुर्पक्षका लागि उनीहरूलाई थुनामा राख्ने वा तारेखमा छाड्ने आदेश दिन्छन् । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा कार्कीसँगै युवराज कँडेल र रवि लामिछानेविरुद्ध अभियोजन दर्ता गरिएको हो ।
पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका अस्मिता कार्की, युवराज कँडेल र रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनअघि पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । अभियोगपत्रमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई आत्महत्या दुरुत्साहनअन्तर्गतको कानुनअनुसार एउटै मागदाबी गरिएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।
मुद्दा दायर भएपछि अदालतमा अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुनेछ । नेपालमा गत वर्षको भदौदेखि लागू भएको नयाँ कानुनअनुसार आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ । चितवन अदालतमा यसअघि पनि आत्महत्या दुरुत्साहनका ६ मुद्दा दायर भएका छन् ।
रविका समर्थक लखेट्न प्रहरीद्वारा अश्रुग्याँस प्रहार पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका रवि लामिछानेका समर्थकको प्रदर्शन रोक्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । दिनभर आन्दोलनरत समर्थकलाई लखेट्न प्रहरीले केहीबेर अश्रुग्याँससमेत प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालयअगाडि जम्मा भएर नाराबाजी गरेका उनीहरू अश्रुग्याँस प्रहारपछि तितरवितर भएका थिए । रविलगायतलाई अदालत पेस गरेपछि आइतबार नै छुट्ने आशा गरेर बिहानैदेखि जम्मा भएका उनीहरूले आइतबार दिनभर प्रदर्शन गरेका थिए ।राजधानी दैनीकवाट साभार












