एजेन्सी –अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकू समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकू मारिएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ ।तालिबानको सारा केटा अर्थात रेड यूनिटको समूहले मंगलबार राति मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला जोडिने राजमार्गमा रहेको सुरक्षाचौकीमा आक्रमण गरेका थिए ।सो आक्रमणपछि सुरक्षाबलले गरेको जवाफी कारबाहीमा ३७ तालिबान लडाकू मारिएका प्रान्तीय प्रहरी उपप्रमुख मसुद बबाकारखिलले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ
सुरक्षा अधिकारी र तालिबान लडाकूबीच सात घण्टासम्म झडप जारी रहेको थियो । सो झडपको क्रममा सुरक्षाबलका एक जना सदस्य घाइते भएको र उनलाई सेनाको शिविरमा सारिएको जनाइएको छ ।मारिएका तालिबान लडाकूको शव अफगान रेड क्रिसेन्ट वा स्थानीय गाउँलेलाई हस्तान्तरण गरिने बबाकारखिलले बताउनु भएको छ ।पहाडी प्रान्तहरुलाई नियन्त्रणमा लिएर बसेको तालिवान लडाकू समूहले बारम्बार सुरक्षाबलमाथि आक्रमण गर्दै आएका छन् ।यस सुरक्षा कारबाहीको विषयमा तालिबानी लडाकू समूहले हालसम्म कुनै टिप्पणी गरेको छैन ।












