अमेरिकामा सडक दुर्घटनामा तिन नेपालीको मुत्यु

प्रकाशित मिति:

काठमाडौँ । अमेरिकामा सडक दुर्घटनामा परी नपालबाट घुम्न गएका बाआमासहित छोरीको मृत्यु भएको छ । त्यहाँको मिजुरी राज्यमा मंगलबार भएको सो दुर्घटनामा नेपालका श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनालको ज्यान गएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । अमेरिकामै रहेकी श्रद्धाका आमाबुवा नेपालबाट घुमघामका लागि केही समयअघि अमेरिका पुगेका थिए । श्रद्धाका पति प्रभाश ओझाले कार हाँकिरहेको वेला सो कार दुर्घटनामा परेको हो । चालक ओझा घाइते भएका छन्, उनीसँगै ४ वर्षीय छोरा पनि घाइते छन् । घाइते बाबुछोराको स्थानीय अस्पतालमै उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले दिएको विवरण अनुसार टोयोटा आरएभी ४ मोडलको आफ्नै कार हाँकेर चालक प्रभाश परिवारजनलाई लिएर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्वतर्फ गइरहेका थिए । रातो लाइट बलेकाले उनले कार रोकिराखेका थिए तर पछाडिबाट आएको टोयोटाकै पिकअप ट्रकले सो कारद्याई ठक्कर दिँदा दुर्घटनाग्रस्त हुन पुग्यो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।