दशैंको अग्रिम टिकट भदौ २५ बाटै खुलाउने, भाडा वृद्धिकाे सर्तमा यातायात व्यवसायी

प्रकाशित मिति:

काठमाडौं – सरकारले भदौ २५ गतेदेखि सार्वजनिक यातायातमा दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने बताए पनि यातायात व्यवसायीहरु अनिच्छुक देखिएका छन् । दशैंको टिकट खुल्ला गर्न व्यवसायीहरुले भाडादर समायोजन गर्नुपर्ने सर्त सरकारसँग राखेका छन् । तर आफुहरुले भाडादरमा मोलतोल नगरेको यातायात व्यवसायीहरु बताउँछन् । दशैंँकै लागि टिकट व्यवस्थित तरिकाले बुकिङ खुल्ला गर्न गत भदौ १३ गते गृह मन्त्रालय, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँगै यातायात व्यवसायीहरुबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयमा बैठक बसेको थियो । सोही अनुसार तयारी गर्न मंगलबार नाडाका प्रतिनिधि र विभागबीच पनि बैठक बस्यो ।

त्यस्तै बुधबार पनि यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभागबीच थप छलफल भयो । यसरी सरकार र नीजि क्षेत्रबीच तीन पटकसम्म बैठक बस्दा समेत दशैंको टिकट बुकिङ कहिले देखि खोल्ने भन्ने निष्कर्ष निस्कन सकेको छैन् । निष्कर्ष ननिस्कनुमा भाडादर मुख्य कारण बनेको छ । यातायात व्यवसायीहरुले २०६९ साल यता, वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै सरकारसँग बार्गेनिङ गरेका छन् ।बैज्ञानिक भाडादर निर्धारणमा इन्धनको मुल्यको ३५ प्रतिशत भार वेटेज लिइन्छ भने बाँकी ६५ प्रतिशत चालक सहचालकको तलब, मर्मत सम्भार खर्च, बैंक व्याजदर लगायत छन् । व्यवसायीहरु ६५ प्रतिशत तर्फको जोड दिएर बैज्ञानिक मुल्य समायोजन हुनपर्ने पक्षमा छन् । यद्यपी ७ वर्षअवधिमा इन्धनकै आधारमा तीन पटक १३ प्रतिशतसम्म भाडा सरकारले बढाएका थियो । तर, यस पटकको दशैंमा भने कुनै हालतमा भाडा नबढ्ने विभागले जनाएको छ ।

व्यवसायीहरुले अहिलेपनि सुपर डिलक्सको डिलक्सभन्दा ४० प्रतिशतसम्म थप बढी लिने गर्दछन । तर, गाडीको ब्लुबुकमा सुपर डिलक्स नाममा हुदैन । विभागका अनुसार यस पटक तोकिएकोभन्दा बढी भाडा लिए पाँच हजारसम्म जरिवाना गर्ने अधिकार ट्राफिक प्रहरीलाई दिइसकेको छ । यातायात व्यवसायीले यसपटक समिति खारेजी पछि, नयाँ गाडी नथप्ने र भएकाको व्यवस्थित गरी सञ्चालन गर्ने जनाएको छ । दशैंमा करिब २० लाख यात्रु काठमाडौंबाट पुख्र्यौली जन्मथलो जाने गर्दछन । एकहप्तामा पाँच हजार गाडी ओहोरदोहोर गर्नुपर्ने देखिएकोले व्यवस्थित यात्राका लागि चुनौती नै रहेको बताउछन् । यातायात व्यवसायीहरुले ग्रामिण क्षेत्रका सडकको दुराअवस्थालाई भने सरकारले सुधार गर्नुपर्ने बताउदै आएका छन् । सरकारले पनि असोज १० देखि १८ गतेसम्म काठमाडौंका १० स्थानमा नागरीक सहायता कक्ष सञ्चालन गर्ने भएको छ । विभागले थप आवागमनलाई व्यवस्थीत बनाउन प्रदेश सरकार अन्र्तगतका भौतिक मन्त्रालयलाई समेत पत्राचार गरिसकेको छ ।