\काठमाडौँ –अब सबै स्थानीय तहका प्रशासकीय भवन एकै प्रकारका हुने छन् । सरकारले स्थानीय तहको प्रशासकीय भवन एकै प्ररकारका निर्माण गर्नका लागि कार्यविधि अन्तिम चरणमा पु¥याएको छ । कार्याविधि बनेर कार्यान्वयनमा आएपछि अब बन्ने भवन एकै प्रकारको हुने भएको हो ।सरकारले ७५३ वटै स्थानीय तहका प्रशासकीय भवनमा एकरूपता ल्याउनका लागि कार्यविधि निर्माण गरी स्थानीय तहलाई प्रदान गर्न लागेको हो ।
सरकारले चालू वर्षको बजेटमा नै स्थानीय तहका प्रशासकीय भवन निर्माणका लागि यस वर्ष ३० करोड ५२ लाख रुपियाँ बजेटसमेत विनियोजन गरिसकेको छ ।स्थानीय तहले प्रशासकीय भवन निर्माण गर्दा कुल लागतको गाउँपालिकाले ३० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम बेहोनुपर्ने गरी कार्यविधिमा प्रस्ताव गरिएको छ । सरकारले बेहोर्ने रकम भने क्रमिक रूपमा सरकारले हरेक वर्ष प्रदान गर्दै जाने गरी प्रस्तावित कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले गाउँपालिका र नगरपालिकाका लागि चार प्रकारका र वडा कार्यालयका लागि छ प्रकारका नक्सा उपलब्ध गरी सबै स्थानीय तहलाई यसअघि नै पठाइसकिएको छ ।स्थानीय तहका जनप्रतिनिधिले भने सबै स्थानीय तहका प्रशासकीय भवन एकै प्रकारका निर्माण गर्न सम्भव नहुने बताएका छन् । नेपाल नगरपालिका सङ्घका महासचिव एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले स्थानीय तह सङ्घ र प्रदेशको अधिनस्त निकाय नभएकाले सङ्घ र प्रदेशले जे भन्छन् सोही गर्न आफूहरू बाध्य नहुने बताउनुभयो । यो खबर गोरखापत्र दैनिकमा छ ।









