जनकपुर – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुल्ला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताएका छन्। शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई दोस्रो दिन सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ का सबै जिल्ला भारतसँग जोडिएको र सीमाक्षेत्र खुल्ला हुँदा शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताए। ‘संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सुरक्षा संयन्त्र परिचालन गरिए अपराधिक घटना न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने, ‘सरकारको पहिलो दायित्व नै शान्ति सुरक्षा हो। यसमा आ–आफ्नो ठाउँबाट सबै पक्ष लाग्नुपर्छ।
गृह मन्त्रालय र प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा शुक्रबारदेखि चलिरहेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मूलभूत लक्ष्य प्राप्ति र विद्यमान समस्या समाधानका लागि सुरक्षा निकायबीच साझा अवधारणा विकास गर्ने उद्देश्यकासाथ गोष्ठी सञ्चालन गरिएको बताए। हरेक दृष्टिकोणले जनकपुरधाम महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले केही व्यावहारिक कुराहरुलाई महत्व दिई कार्य गर्दा लाभदायी हुने बताए। जनकपुरमा विगतमा भएका सुरक्षा सम्बन्धी कार्यको चर्चा गर्दै उनले विगतका कुरालाई आत्मसात गरी अगाडि बढेमा समस्या समाधान गर्न सहज हुने विचार व्यक्त गरे।
गोष्ठीमा आपराधिक घटनालाई न्यूनीकरण गर्ने उद्देश्यकासाथ दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए। गोष्ठीको पहिलो दिनको सत्रमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्राडा इन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले प्रस्तुतीकरण गरेका थिए।









