अस्ट्रेलियामा दसैं कप : उपाधि एडिलेड ड्रागनलाई

प्रकाशित मिति:

अस्ट्रेलिया — नेपालीहरुको महान चाड वडादसैंको अवसरमा आयोजना गरिएको दसैंकपको उपाधि एडिलेड ड्रागन फुटबल क्लबले हात पारेको छ । पेनाल्टी सुटआउटमा आयोजक एकेएफसीलाई १ गोलले हराउँदै ड्रागनले ३ हजार डलर पुरस्कारसहित ट्रफी जितेको हो । दक्षिण अस्ट्रेलियामा हरेक वर्ष दसैंको अवसरमा आयोजना गरिने फुटबल प्रतियोगितामा यस राज्यमा रहेका विभिन्न क्लबहरुले सहभागिता जनाउने गरेका छन् । दुईदिनसम्म चलेको यस प्रतियोगितामा विभिन्न ४ वर्गीकरणमा फुटलबल प्रतियोगिता आयोजना हुने गरेको छ ।

खुकुरी क्लबले भेट्रान, बालबालिका र महिला सहितको फुटबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको मुख्य प्रतिस्पर्धाका रुपमा आयोजना गरिएको फुटबल खेलमा ड्रागन फुटबल क्लब र आयोजक खुकुरी क्लब खेल समय समाप्त हुँदासम्म बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउट भएको थियो । पेनाल्टीमा आयोजकलाई ४ का विरुद्ध ५ गोलले हराउँदै ड्रागनले उपाधि जितेको हो । क्लबको विटाविरा पार्कमा रहेको आफ्नै मैदानमा आयोजना भएको प्रतियोगिताका विजयीहरुलाई क्लबका पदाधिकारीहरुले नगद र ट्रफी प्रदान गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङले नेपाली समुदायलाई एक स्थानमा ल्याउने र आपसी भाइचारा कायम गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिरहेको बताए । शनिबार र आइतबार चलेको उक्त प्रतियोगितामा २० बढी क्लबले सहभागिता जनाएका थिए । अन्य प्रतिस्पर्धामा भेट्रानतर्फबाट आयोजक खुकुरी क्लबले ब्रदर्स युनाईटेडलाई एक गोलले हराउँदै उपाधि जितेको थियो । उसले उपाधि स्वरुप ६ सय डलर र ट्रफी हात पार्यो । – कान्तिपुर