मन्त्री भट्टराईलाई कांग्रेस प्रवक्ताको सुझाव – शालिन प्रतिपक्षलाई अराजक नदेख्नुस्
काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरुको बोली, व्यवहार र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई अलग संस्कार देखाउन आग्रह गरेका छन्। सोमबार दिउसो शर्माले ट्वीट गरी सरकारमा बसेर तितो बोल्ने ‘बहादुरी’ अरुले गरिरहेको उल्लेख गर्दै भट्टराईलाई अलि फरक हुन सचेत गराएका हुन्। ‘तपाई (योगेश भट्टराई) अलि फरक बन्नोस्,’ उनले भनेका छन्।
आइतबार कांग्रेस नेता मिनेन्द्र रिजालमाथि आक्रमण भएपछि प्रतिपक्षी पार्टीका नेताहरु रुष्ट छन्। शर्माले विगतको स्मरण गराउँदै भट्टराई सचेत गराएका हुन्। ‘अधिनायक आकांक्षाको घोडामा थपिएर शालिन प्रतिपक्षलाई अराजक देख्न थाल्दाचैँ कमरेड म सम्झन्छु २०४८–०५० को प्रतिपक्षको ध्वंस,’ शर्माले भनेका छन्, ‘के गरुँ शब्द परिभाषा बुझ्न डिक्सनरी पार्सल गरुँ?’









