काठमाडौं – उत्तर कोरिया र अमेरिकाबीच अक्टोबर ५ मा ‘निर्णायक सहमति’ हुने भएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएले मंगलबार फेब्रुअरीमा भएको वार्तामा मिल्न नसकेको कुरा र महिनौंसम्मका विवादका विषयमा निर्णायक वार्ता हुने जनाएको छ । दोस्रो चरणमा भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच परमाणु र मिसाइल कार्यक्रमका विषयमा भएको वार्ता बिना सम्झैता टुंगिएको थियो । गत जुनमा दुई नेताबीच दक्षिण कोरिया र उत्तर कोरियाको सीमा क्षेत्रमा भेट भएको थियो । तर, उक्त भेटपछि पनि उत्तर कोरियाली भने छोटो दूरीका मिसाइल परीक्षणलाई जारी राखेको छ । अमेरिका र दक्षिण कोरियाबीच हुने भनिएको संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाले चर्को आलोचना गर्दै उक्त अभ्यास रोक्नसमेत चेतावनी दिएको थियो ।
उत्तर कोरियाका विदेशमन्त्री चो सन हुइलाई उदृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसीएनएले दुबै मुलुकबीच अक्टोबर ४ मा सम्पर्क गर्ने सहमति भएको जनाएको छ । तर, वार्ता कहाँ हुने भन्ने विषयमा केही जानकारी गराइएको छैन । विदेशमन्त्री चोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उत्तर कोरियाली प्रतिनिधि अमेरिकासँग वार्ता गर्ने विषयमा तयार छन् । उक्त वार्ताले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने छ । यसअघि सेप्टेम्बरमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले वाशिङ्टन उत्तर कोरियासँग वार्ता गर्न तयार भएको प्रतिक्रिया दिएका थिए । त्यसैगरी अमेरिकी पूर्व राष्ट्रिय सुरक्षा सल्लाकार जोन बोल्टनले सोमबार उत्तर कोरिया परमाणु हतियार नष्ट गर्ने मनस्थितिमा नरहेको बताएका थिए । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै दुबै देशबीच हुन लागेको वार्ता स्वागतयोग्य भएको जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीलाई आशा छ, चाँडै ठोस प्रगति हासिल हुनेछ । पूर्णरुपमा परमाणु मुक्त भएर कोरियन पेनिनसुलामा स्थायी शान्ति स्थापना हुनेछ । – रोयटर्स












