यलु जोशी/ काठमाडौं – दशैं तपाईं मध्ये धेरैको घरमा प्रवेश गरी सकेको छ । दशैं मुख्य रुपमा खाने र लाउने पर्व हो । त्यसैले धेरैले आफ्ना लागि मन परेका लुगाकपडा किनी सक्नु भयो होला । फेसन बारे धेरैको फरक धारण हुन सक्छ । फेसन नयाँ युगको पहिचान हो । हाम्रो जीवनशैलीको महत्वपूर्ण पाटो भनेकै फेसन हो । फेसन विना मानिसको पहिचान फरक हुन्छ । चाडवाड वा अन्य जमघटमा विशेष रुपम फेशनेबल हुनुले हाम्रो व्यक्तित्वको मापन हुने आम धारणा रहेको छ । फेसन डिजाइनर आस्तिक शेरचन भन्नुुहुन्छ, फेसन समय मापन गर्ने माध्यम हो । ढुंगे युगवाट शुरु भएको मानव सभ्यतामा फेसनले त्यो बेला खासै रुप लिन सकेको थिएन । लाज ढाक्ने कार्य रुख–बिरुवाका पात–पतिङ्गरबाट जानी–नजानी भयो । शायद फेसनको प्रारम्भ र शुरुवात यसैलाई भन्न सकिन्छ ।
शरीर ढाक्न तथा लाज जोगाउन विभिन्न शैली र डिजाइनमा लुगा तयार गर्न जानेपछि नै फेसनले नयाँ गत्ति लिएको मानिन्छ । यो गत्तिसँगै एकाइसांै शताब्दीमा फेसनले ठूलो फड्को मारेको पाइएको छ । यस क्रममा विभिन्न फेसन डिजाइनर तथा फेसन व्यवसायीको फेसन बजारमा राम्रो उपस्थितिले समयानुकुल फेसनको विकास भएको भनिन्छ । नयाँ युगको पहिचान तथा समय मापनको माध्यमको रुपमा रहेको फेसनले नेपालमा पनि राम्ररी नै स्थान पाएको छ ।घरमा खानै नपाए तापनि बाहिर राम्रो लुगा लगाउनु पर्दछ भन्ने नेपाली मान्यताले चाँडै नै स्थान जमाउन सफल भएको पाइन्छ । अरु, कुरामा नेपाली पछि छन तर नेपालीहरू फेसनको मामिलामा अग्रपंक्तिमा नै देखिएका छन् । जसले गर्दा केही समय यता किराना पसल जस्तै फेसनेबल फेन्सी पसलदेखि महंगो लगानीका बुटिक समेत खोल्नेहरू बीच हानथाप नै भइरहेको देखिन्छ ।त्यस बाहेक नेपाली महिला तथा पुरुषमा फेसनेबल बन्ने तीब्र प्रतिस्पर्धा भैरहेको पाइन्छन् । यही प्रतिस्पर्धाले कुनैबेला दशैको बेलामा मात्र व्यस्त बन्ने फेसन व्यवसायीहरु हाल बर्षभरि नै ब्यस्त बनिरहेका छन् ।
युवापुस्ता बीचको यस्ता फेसनको कुरामा होडवाजी नै हुने गर्छ । मोडल एलिना शाक्य भन्नुहुन्छ, बजारमा कस्तो फेसन चलेको छ त्यसमा अपडेट हुनु जरुरी छ । हाम्रो जीवनशैली यही चलेको फेसनले नै गर्छ भने आत्मवल पनि बढाउन मदत्त गर्छ । उहाँले अरु साथीहरु सबै अहिले चलेको फेसनमा सजिएको र आफू पुराना फेसनमा नै रहिरह्यो भने आफ्नो आत्माविश्वास घट्ने र केही बोल्न नै नसक्ने हुने बताउनुहुन्छ । यस्तै पूर्व मिस नेपाल शृङ्खला खतिवडाले फेसनको नाममा मन परितन्त्रले समाजमा नकारात्मक असर पार्ने गर्नु उचित नभएको बताउनुहुन्छ । हाम्रो जीवनमा फेसनको महोत्व रहेको र आफूपनि फेसनको कुरामा अघि रहे पनि समाजमा विकृती भने लिएर आउनु नहुने बताउनुहुन्छ । मिस नेपाल खडिवडा भन्नुहुन्छ, फेसन भनेको शरीर सुहाउँदो शरीर ढाक्ने माध्यम हो । यसलाई सामाजिक आँच आउने किसिमले बिरुप पार्नु अवश्य पनि हुँदैन ।
फेसन त सभ्य हुनुपर्दछ । गुलाफ जस्तै हेर्दैमा सुन्दर हुनुपर्दछ । सुसंस्कृत बन्नु पर्दछ । यसो भएमा समाज मयादित बन्ने गर्दछ । उक्त मर्यादाले समाजले सामाजिक हुनुको मर्यादा एवम् सही गत्ति पाउनुको मज्जा महशुश गर्न पाउछन् । अर्कोतर्फ समयानुकुल फेसनको परम्पराले विभिन्न मौसम तथा पर्व विशेषको आँकन हुने भएबाट सोही अनुरुप डिजाइनरबाट डिजाइन हुनु आवश्यक छ ।फेसन डिजाइनर निलम मिर चण्डानीले समाजलाई नै भड्खालोमा पार्ने गरेर फेसनेबल गर्नु राम्रो नभएको बताउनुहुन्छ ।उहाँले मोडलले इलेक्ट्रोनिक्स तथा पेपर मिडियामा छाउँदा सकभर शालिन सुन्दरतामा सोही अनुरुपका फेसनमा छाउन जान्नु पर्ने बताउनुभयो । आफ्नो शरीर अनुसारको फेसनलाई दरिलो रुपमा प्रस्तुत गर्न सक्नु पर्दछ । यिनै रोलमोडलहरुलाई आदर्श मान्ने उपभोक्ताबादी संस्कारको विस्तारै नेपालमा विकास हुन थालेको छ । मिरचण्डानीले फेसन बजारलाई हाँक्ने कार्य समेत हाल आएर चलेका पुराना मोडलहरुबाट भईरहेको बताउनुभयो । – गोरखापत्र










