यो सरकारले अब नयाँ कामको थालनी गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अर्यालको भनाइ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले यो सरकारले अब नयाँ कामको थालनी गर्ने बताएकी छन् । स्याङ्जाको वालिङ नगरपालिका–१ मा रहेको देवीस्थान शेरा सामुदायिक भवनको उद्घाटन तथा दशैको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री अर्यालले पाँच बर्षको म्यान्डेड पाएको यो सरकारले ठुला—ठुला योजनाको थालनी गर्न लागेको बताएकी हुन् । मुलुको विकासमा यो सरकारले गर्न नसकेमा अब आउने सरकारले पनि काम गर्न नसक्ने दावी गर्दै मन्त्री अर्यालले जनता माझ जादा सार्वजनिक गरेको घोषणा पत्र अनुसार सरकारले काम गरेरै छाड्ने बताईन् ।
विगतका समयमा निर्माण भएका सरकार समय समयमा फेरिदा दिगो विकासको अवधारणा आउन नसकेको तर्क राख्दै मन्त्री अर्यालले अब यो सरकार दिगो विकासका लागि ठूला आयोजना अगाडि बढाउने तर्फ लागेको उल्लेख गरीन् । स—साना कामसँगै ठूला काममा पनि सरकारले हात नहाले मुलुकको विकास नहुने मन्त्री अर्यालको भनाई थियो । सरकार दिर्घकालिन योजनामा रहेकाले सबै जनताले सरकारलाई सहयोग गर्न आग्रह गरिन् । सरकारले हावा कुरा ग¥यो भन्नेहरुले देख्न सक्नुपर्छ भन्दै मन्त्री अर्यालले पाईपलाईन बाटै नेपालमा पेट्रोलियम पदार्थ आएको तर्क पेश गरिन् । अब पानी जहाज र रेल पनि नेपालमा चल्ने दावी गर्दै उनले पाँच वर्षका लागि निर्माण भएको यो सरकारले विकास निर्माणको जग बसालेर छाड्ने बताईन् । तिनतहका सरकारहरुको समन्वय हुन सकेमात्रै गाँउटोल देखि जिल्लाकै विकास हुने मन्त्री अर्यालले बताईन् । यो सरकार मुलुकको काचुली फेर्न तयार रहेको उल्लेख गर्दै मन्त्री अर्यालले सरकारले ल्याएको हरेक विद्येयकमा विरोध नगर्न समेत सबैलाई उनले आग्रह गरिन् । सामुदायिक भवन निर्माणका लागि सरकारबाट रु १२ लाख ३० हजार, चन्दा सहयोगबाट रु १५ लाख ५३ हजार ३४२, देउसीभैलोबाट रु ११ लाख ९५ हजार ३७५ र जनश्रमदानबाट रु आठ लाख ९६ हजार गरी रु ४३ लाख ७६ हजार ७१७ को लागतमा भवन निर्माण गरिएको थियो । सामुदायीक भवन निर्माणका लागि जग्गा निशुल्क दान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।









