दशैं र तिहारलाई सुरक्षित बनाउन रुपन्देही प्रहरीद्धारा विशेष सुरक्षा योजना

प्रकाशित मिति:

दशैं र तिहारलाई सुरक्षित बनाउन रुपन्देही प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वका बेलामा राजमार्गमा चल्ने लामो दूरीका रात्रिबस र अन्य सवारी साधनलाई पनि सुरक्षित बनाउन हतियारसहित सुरक्षाकर्मी परिचालन गर्न थालिएको छ ।जंगल र सुनसान क्षेत्रमा हतियारसहित प्रहरीको गस्ती सञ्चालन गरिएको रूपन्देही प्रहरीले जनाएको छ । हतियारसहितका सुरक्षाकर्मी एउटा बसबाट यात्रा गर्दै अर्को स्थानमा पुग्ने र अर्को बसबाट फिर्ता आउनेछन् । रातभरि यो प्रक्रिया दोहोरिइरहने छ ।यस्तै प्रहरीले भारतीय मोटरसाइकलप्रति पनि सुरक्षा निगरानी बढाएको छ । रूपन्देहीमा चाडपर्वका लागि ७ सय ९१ जना नेपाल प्रहरीतर्फका सुरक्षाकर्मीको परिचालन गरिएको छ । दसैंको बढ्दो चहलपहलसँगै ठाउँठाउँमा सुरक्षाकर्मीले गस्ती बढाएका छन् ।भारतसँगको खुला सिमाना र बेलहिया नाकामा सुरक्षा सजगता बढी अपनाइएको छ । नेपाल आएका प्रत्येक भारतीय नम्बरका सवारीसाधनको चालकसहितको लगत अलग्गै राख्न प्रहरीले सुरु गरेको छ ।खुला सीमानाको फाइदा उठाउँदै भारतीय नम्बरका सवारीसाधनबाट हुन सक्ने अपराधप्रति सजगता अपनाउन यस्तो प्रयास थालिएको रुपन्देही प्रहरीको भनाइ छ ।सीमानाका बेलहियाका अतिरिक्त धकधई, लुम्बिनी र मर्चवार क्षेत्रबाट नेपाल आउने गरेका भारतीय सवारी साधनको लगत राख्न थालिएको हो ।भन्सार सुविधा बनाएपछि २४ घण्टासम्मका लागि नेपाल नजिकका बजारसम्म भारतीय सवारीसाधन आउन पाउने प्रावधानले नेपालतर्फ सुरक्षा चुनौती बढ्न थालेको छ ।